युरोपमा यस वर्ष गर्मीका कारण ५० हजारभन्दा बढीको मृत्यु
काठमाडौं । युरोपमा यस वर्ष जुनदेखि अगस्टसम्म भएको अत्यधिक गर्मीका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको छ । तीमध्ये ३२ हजार ६१९ जनाको मृत्युमा जलवायु परिवर्तन जिम्मेवार रहेको अध्ययनले देखाएको छ । कोइला, खनिज तेल र प्राकृतिक ग्यासको प्रयोगबाट बढेको विश्वव्यापी तापक्रमले गर्मीलाई थप घातक बनाएको अध्ययनमा उल्लेख छ । इम्पिरियल कलेज लन्डनका वैज्ञानिकहरूले युरोपका ८५४ सहरको तापक्रम र मृत्युसम्बन्धी तथ्यांक विश्लेषण गरी यो निष्कर्ष निकालेका हुन् । ती सहरमा युरोपको करिब ४० प्रतिशत जनसंख्या बसोबास गर्छ । सन् २०२२ को तुलनामा यस वर्ष गर्मीका कारण हुने मृत्यु ७१ प्रतिशतले बढेको छ । सन् २०२२ मा गर्मीका कारण २९ हजार ४८० जनाको मृत्यु भएको थियो । सबैभन्दा बढी मृत्यु इटली, फ्रान्स, स्पेन र जर्मनीमा भएको छ । गर्मीका कारण २० देखि ४४ वर्ष उमेर समूहका ८०० भन्दा बढी मानिसको समेत मृत्यु भएको छ । जुन १७ देखि जुलाई १ सम्मको अवधिमा मात्रै कुल मृत्युमध्ये करिब एकतिहाइ घटना भएका थिए । यस अवधिमा तापक्रम सामान्यभन्दा ५.३ डिग्री सेल्सियससम्म बढी थियो । अनुसन्धानकर्ताहरूका अनुसार मे महिनामा परेको लूलाई अध्ययनमा समावेश नगरिएकाले गर्मीका कारण हुने वास्तविक मृत्युको संख्या अझ बढी हुन सक्छ । वैज्ञानिकहरूले युरोपको विद्यमान पूर्वाधार अत्यधिक गर्मीको सामना गर्न पर्याप्त रूपमा तयार नरहेको चेतावनी दिएका छन् ।
७५ वर्षमा पृथ्वीको तापक्रम २.८ डिग्रीसम्म बढ्न सक्ने चेतावनी
वर्तमान नीतिहरू निरन्तर कार्यान्वयन भएमा आगामी ७५ वर्षभित्र पृथ्वीको तापक्रम औद्योगिक क्रान्तिपूर्वको तुलनामा २.८ डिग्री सेल्सियससम्म बढ्न सक्ने संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) को ‘एमिसन्स ग्याप रिपोर्ट’ ले जनाएको छ । सबै देशले घोषणा गरेका जलवायु लक्ष्य पूरा गरे पनि तापक्रम वृद्धि २.६ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ । ‘नेट जिरो’का प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन भएमा मात्र तापक्रम वृद्धिलाई २.१ डिग्री सेल्सियससम्म सीमित राख्न सकिने प्रतिवेदनमा उल्लेख छ। तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्य हासिल गर्न कठिन बन्दै गएको बताइएको छ । तापक्रम बढ्दै जाँदा लू, बाढी, खडेरी र हिमनदी पग्लिने जोखिमसमेत बढ्ने चेतावनी दिइएको छ । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अपेक्षित कमी आउन नसकेको बताइएको छ । सन् २०२५ मा विश्वभर ५८.४ अर्ब टन हरितगृह ग्यास उत्सर्जन भएको प्रतिवेदनमा उल्लेख छ । कुल उत्सर्जन लगभग स्थिर रहे पनि कोइला, तेल र ग्यासको प्रयोगबाट हुने कार्बन उत्सर्जन भने बढेको छ । तापक्रम वृद्धिलाई पुनः १।५ डिग्री सेल्सियसको सीमाभित्र ल्याउन सन् २०२५ को तुलनामा हरितगृह ग्यास उत्सर्जन सन् २०३० सम्म १८ प्रतिशत, २०३५ सम्म ४५ प्रतिशत र २०४० सम्म ६९ प्रतिशतले घटाउनुपर्ने प्रतिवेदनले औँल्याएको छ। पृथ्वीको तापक्रम घटाउन वायुमण्डलबाट ३२० अर्ब टन कार्बन हटाउनुपर्ने आवश्यकता पनि उल्लेख गरिएको छ ।

















