भारतीय नागरिकले कमाएको रकममा नेपालमा उच्च कर

काठमाडौँ । भारतीय बहुराष्ट्रिय कम्पनीका उच्च पदाधिकारीको टोलीले भारतीय नागरिकहरूले कमाएको रकमको ३० प्रतिशत नेपालमा रहनु पर्ने र बाँकीमा पनि नेपालमा उच्च कर दर रहेको बताएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटघाटमा टोलीले यस्तो बताएको हो । नेपाल भारत उद्योग वाणिज्य संघको समन्वयमा आयोजित बैठकमा बहुराष्ट्रिय कम्पनीका प्रमुख कार्यकारी अधिकारी र प्रतिनिधिले नेपालमा आफ्नो कम्पनीहरुको व्यावसायिक सफलता र भविष्यको विस्तार योजनाहरूको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए । कच्चा पदार्थ र तयारी उत्पादनहरू आयात गर्दा दुवैमा भन्सार शुल्क उस्तै रहेकोले नेपालमा उत्पादन लागत बढाएकोले प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएको समेत कम्पनीका पदाधिकारीहरुले बताएका छन् ।

नेपालमा विदेशी लगानीलाई प्रोत्साहन गर्नका लागि सरकारले यस्ता विषयहरूलाई सम्बोधन गर्नुपर्ने उनीहरुको भनाइ थियो । बैठकमा परराष्ट्रमन्त्री श्रेष्ठले उल्लेखित समस्याहरूलाई प्रधानमन्त्रीलगायत अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिका मन्त्रीहरूलाई सम्बोधनका लागि पुर्‍याइने आश्वासन दिए । रेमिट्यान्स र आयात भन्सार महसुलमा आधारित नेपालको अर्थतन्त्र उपभोक्ता आधारित अर्थतन्त्रमा परिणत हुँदै गरेकोमा श्रेष्ठले चिन्ता व्यक्त गरे । बैठकमा सूर्य नेपालका प्रबन्ध निर्देशक रविकुमार रायवरम, यूनिलिवर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जी, एसियन पेन्ट्स नेपालका प्रबन्ध निर्देशक अभिमान बरारिया, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका उपप्रमुख कार्यकारी अधिकृत गोरख राणा, बर्जर जेनसन एण्ड निकोलसन नेपालका व्यवस्थापन सल्लाहकार सैबाल घोष, डाबर नेपालका वित्त नियन्त्रक मयुर कुमार र नेपाल भारत उद्योग वाणिज्य संघका महानिर्देशक केशवमान सिंह थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *