अनावश्यक सरुवाबढुवा हेरफेरमा लाग्दिनँ: स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसबाट स्वास्थ्यमन्त्री बनेका प्रदीप पौडेलसँग भेट गर्न आउनेहरूले सरुवाबढुवाका लागि मिलाइदिन आग्रह समेत गर्ने गरेका छन् ।
मन्त्रालयमा भीडभाड बढेर कामकाजमा नै अवरोध भएपछि मन्त्री पौडेलले भेटघाटको समय दिउँसो २ बजेपछि मात्रै निर्धारण गरेका छन् । सरुवाको अनुरोध गर्ने कर्मचारीलाई उनले ‘अहिले कर्मचारी नचलाउने’ जवाफ दिने गरेका छन् । मन्त्री पौडेलले पदभार ग्रहणकै क्रममा सञ्चारकर्मीहरूसँग अनावश्यक सरुवा, हेरफेरमा नलाग्ने भनेका थिए ।
बरु, मन्त्रालयका विज्ञको सल्लाहअनुसार अघि बढ्ने बताएका थिए । म अहिले कर्मचारीको सरुवाबढुवा हेरफेरमा लाग्दिनँ, त्यो मेरो प्राथमिकता पनि होइन । म काम गर्न आएको हुँ, काम गरेर देखाउँछु । विज्ञ कर्मचारीहरूको सल्लाहअनुसार अघि बढ्छु, मन्त्री पौडेलले भनेका छन् । यसअघिका मन्त्रीहरूले आफ्ना अनुकूलका कर्मचारी हेरफेरलाई प्राथमिकतामा रोखेको देखिन्छ ।