बर्तमान सरकारले भाषण गर्ने भन्दा पनि काम गरेर देखाउँछ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकका निराशा चिर्न सरकारले काम गरेर देखाउनुपर्ने समय आएको बताएका छन् ।

काठमाडौंमा सोमवार नेपाल फ्रेट फरवार्डरस एशोसिएशनको आयोजनामा भएको ३० औं कार्गो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकारले धेरै भाषण गर्ने भन्दा काम गरेर देखाउने प्रतिबद्धता जनाए । सोही अनुसार मौद्रिक नीति आएको पनि उनको भनाइ छ । वर्तमान मौद्रिक नीति व्यवसाय गर्न सहजता प्रदान गर्नेगरी आएको बताए । उनले ऐन, कानुनको कार्यान्वयन नहुँदा र व्यवस्थित गर्न नसक्दा भोग्नुपरेका समस्या समाधानका लागि सरकारलाई दबाब दिइरहन पनि आग्रह गरे ।

उनले सरकारलाई दबाब र सुझाव दिएमात्रै कामहरु छिटो छरितो र व्यवस्थित हुने बताए । उनले भने ‘तपाईंहरले काम गर्दाखेरि जुन नीतिगत तवरमा समस्या भोगिरहनुभएको छ, त्यसको लागि अलि खुकुलो पार्ने, व्यवस्थित गर्ने र सरलीकृत गर्ने भुमिका निर्वाह गर्नेछु । काम गर्दैगर्दा तपाईँहरूले भोग्दै आउनुभएका समस्यालाई सरकारलाई बारम्बार घचघच्याइरहनु पर्छ । एउटा कार्यक्रममा भन्यो, त्यसपछि भइहाल्छ की भनेर बस्नुभयो भने त्यसमा गम्भीर्यता हुँदैन । यसमा तपाईँहरूले समय समयमा घचघच्याइरहनु पर्छ । सरकारले त्यसमा अलिकति सरलीकृत गरेको खण्डमा तपाईँहरूको काममा सहजता आउँछ । अहिलेको सरकारले अहिलेको अर्थतन्त्रलाई अलि अघि बढाउने, जीवन्तता ल्याउनका लागि सरकारले भाषणहरू भन्दा पनि कामबाट देखिरहनुभएको छ । मौद्रिक नीति जुन ल्याएको छ, व्यापार गर्न सहज होस् भनेर सरकारले ल्याएको हो । त्यसलाई पनि त सबैले स्वीकार गर्नुपर्छ नि । लामो र धेरै कुरा गर्नु भन्दा पनि हामीले काम गरेर देखाउनुपर्नेछ ।’

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहले समस्या परेका ठाउँलाई सहज र नीतिगत रुपमा कार्यान्वयन गर्न आफूले सक्ने सहयोग गर्ने पनि बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *