सरकारले बहुमतको घमण्ड नदेखाओस्- प्रचण्ड
काठमाडौँ । पुर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले सरकारले गम्भीरताका साथ नलिई जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने चेतावनी दिएका हुन् । उनले आफूहरू संविधान संशोधनको विरोधमा नरहेपनि अहिलेसम्म प्राप्त उपलब्धिहरू कटौती गरिए राम्रो नहुने बताएका हुन् ।
सरकारको प्रकृति, विगतको पृष्ठभूमि हेर्दा संबिधान परिमार्जन नभई जनताको अधिकार कटौती गर्ने उद्देश्य रहेको जिकिर गर्द उनले दुई राजनीतिक दलहरू मिलेर मात्रै संविधान संशोधन हुन नसक्ने बताए ।
प्रचण्डले सरकार बिचौलियाले नै बनाएको भन्दै आफुलाई सबै थाहा भएको र एक दिन आफुले सबै बोल्ने बताए । उनले संसदको लेखा समितिको सभापति प्रतिपक्षीलाई दिनु पर्ने बनाउदै यसलाई सरकारले गम्भीरतापूर्वक लिन आग्रह गरे ।