शिवम् सिमेन्ट्को नाफामा उच्च गिरावट
काठमाण्डौं । शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको उक्त अवधिमा नाफामा उच्च गिरावट भएको पाइएको छ । जसअनुसार कम्पनीको खुद नाफा ५७.९३ प्रतिशतले घटेको छ । गत आवमा कम्पनीको खुद नाफा २५ करोड २ लाख रुपैयाँ छ । अघिल्लो आवमा कम्पनीको खुद नाफा ५९ करोड ४७ लाख रुपैयाँ थियो । कम्पनीको बिक्री र अन्य आम्दानी घटेकाले लागत भने बढेको छ । कम्पनीको बिक्री आम्दानी अघिल्लो आर्थिक वर्ष ७ अर्ब ७५ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ७ अर्ब ७० करोड रुपैयाँ देखिन्छ भने बिक्री लागत अघिल्लो अर्थिक वर्ष ६ अर्ब ४६ करोड रहेकोमा गत आर्थिक वर्ष ६ अर्ब ६७ करोड रुपैयाँ छ ।
अन्य आम्दानी पनि अघिल्लो आवमा ३६ करोड ३७ लाख रुपैयाँ रहेकोमा गत आवमा १९ करोड ८५ लाख रुपैयाँमा झरेको छ । कम्पनीको प्रशासनिक खर्च र अन्य खर्च पनि बढेको छ । त्यसैगरी,वित्तीय खर्च अघिल्लो आवमा ९ करोड ६६ लाख रहेकोमा गत आवमा यो ४ करोड ८९ लाख रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा कम्पनीको कुल नाफा १९.४९ प्रतिशत घटेको छ भने अन्य आम्दानी ४५.४१ प्रतिशत घटेको छ। नाफाघटेका कारण कम्पनीको प्रतिशेयर आम्दानी(ईपीएस) पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८.५४ रुपैयाँ घटेर ४.९८ रुपैयाँमा झरेको छ। त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १८९.२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १००.८६ गुणा छ। कम्पनीको रिजर्भ कोषमा भने ४ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ।कम्पनीको चुक्तापूँजी ५ अर्ब २ करोड रुपैयाँ छ ।