रवि लामिछानेसँग भदौ ७ गते बयान लिने तयारी

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग यही भदौ ७ गते बयान लिने तयारी गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगीमा नाम जोडिएका लामिछानेलाई समितिले भदौ ७ गते बयानका निम्ति बोलाउन लागेको हो । समितिको कार्यविधिअनुसार सहकारीको बचत रकम दुरुपयोगमा संलग्न आरोपितहरूलाई बयान लिने क्रम अन्तिम चरणमा पुगको छ । उक्त सहकारीबाट लामिछानेले पटक–पटक गरी साढे तीन करोड रुपैयाँ लिएर गोरखा मिडिया नेटवर्कमा लगानी गरेको आरोप छ । लामिछानेले आरोप अस्वीकार गर्दै आएका छन् । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गरी गोरखा मिडियामा लगानीको आरोप लगाइएका रास्वपाकै सहमहामन्त्री विपीन आचार्यसँग समितिले आइतबार (हिजो) बयान लिएको छ । समितिले सहकारीका सबै आरोपितसँग सोधपुछ गरिरहेको छ ।
समितिले सहकारी ठगी आरोपमा जेल र थुनामा रहेका करिब २० जनासँग बयान लिएको छ । तीमध्ये आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई डिल्लीबजार कारागारबाट झिकाएर साउन २८ गते बयान लिएको थियो । समितिले सोही दिन सिभिल सेभिङस एन्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष इच्छाराज तामाङसँग बयान लिएको थियो । उनलाई पनि डिल्लीबजार कारागारबाट झिकाएर सोधपुछ गरिएको थियो । डिल्लीबजार कारागारबाटै झिकाएर समितिले कान्तिपुर सेभिङस एन्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीसँग सोधपुछ गरिसकेको छ । गएको साउन २९ गतेको समिति बैठकमा सूर्यदर्शन सहकारीका सचिव एवं गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेलसँग सोधपुछ गरिएको थियो । उनलाई कास्की कारागारबाट झिकाएर सोधपुछ गरिएको थियो । कास्की कारागारमै रहेका सूर्यदर्शन सहकारीका पूर्वसञ्चालक शिवकुमार गुरुङ (महेन्द्र भोटे), पूर्वसञ्चालक एवं सफ्टवेयर डेभलपर भविश्वर अर्यालसँग समितिले सोधपुछ गरिसकेको छ । साउन ३० गते समितिले पोखराकै प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शंकर कार्की र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रमणि पौडेललाई कास्की कारागारबाट झिकाएर सोधपुछ गरेको थियो । सोही दिन पोखराकै बलिदानी बचत तथा ऋण सहकारी संस्था र ललितपुरको सिद्धिदाता बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अजय श्रेष्ठलाई कास्की कारागारबाट झिकाएर समितिले बयान लिएको थियो । साउन ३० गते नै पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेललाई कास्की कारागारबाट समितिको बैठकमा ल्याई सोधपुछ गरिएको थियो । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बुटवलस्थित प्रधान कार्यालयमा क्यासियर पदमा कार्यरत रोशनी गुरुङसँग साउन ३१ गते सोधपुछ गरिएको थियो । उनी ०८० वैशाखमा दुई लाख रुपैयाँ धरौटीमा रुपन्देही जिल्ला अदालतको आदेशमा छुटेकी थिइन् । सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भैरहवा कारागारबाट झिकाएर समितिले सोधपुछ गरिसकेको छ । समितिले साउन ३१ गते सुप्रिमकै पूर्वसचिव दिपेशकुमार पुनसँग बयान लिएको थियो । साउन ३२ गते समितिले छिपछिपे, नवलपरासी (सुस्ता पूर्व), सनराइज, चितवन र नमस्ते बर्दियालगायत सहकारी संस्थाका सञ्चालक र अध्यक्ष रहेका नागेन्द्रबहादुर रिमाललाई चितवन कारागारबाट झिकाएर बयान लिएको थियो । ललितपुरको सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंलाई नख्खु कारागारबाट झिकाएर समितिले सोधपुछ गरिसकेको छ । ललितपुरकै मानभवनस्थित कल्याण उपकार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष लीलाबहादुर (एलबी) गुरुङलाई नख्खु कारागारबाट झिकाएर समितिले बयान लिइसकेको छ । ललितपुरकै कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय र भक्तपुरको गट्ठाघरस्थित कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापालाई नख्खु जेलबाट झिकाएर समितिले सोधपुछ गरिसकेको छ ।
सहकारीको रकम ठगीका आरोपितलाई कारबाहीको माग गर्दै संसद्को काम–कारबाही प्रभावित भएपछि गएको जेठ १५ गते संसदीय समिति गठन गरिएको थियो । नेकपा (एमाले)का सांसद सूर्य थापा सभापति रहेको समितिले तीनमहिने कार्यावधि पाएको थियो । एमालेकै सरिता भुसाल, नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेको समिति गठन गरिएको हो । कांग्रेसका पाण्डे पर्यटमन्त्री बनेपछि उनका ठाउँमा हाल सांसद दिलेन्द्र बडू समिति सदस्य छन् । समितिका सदस्य दाहालले समायावधिभित्रै सभामुखसमक्ष प्रतिवेदन बुझाइने बताए । आरोपितहरूको बयान लगभग अन्तिम चरणमा पुगेको छ । समयभित्रै प्रतिवेदन बुझाउँछौँ । समितिले प्रतिवेदनको ‘ड्राफ्ट’ पनि तयार गर्दै छ । प्राप्त प्रमाणका आधारमा जस्ताको त्यस्तै प्रतिवेदन बुझाउने समितिको तयारी छ । ड्राफ्ट तयार गरिरहेका छौँ । प्राप्त प्रमाणका आधारमा जहाँजहाँ जे समस्या छन्, जस्ताका त्यस्तै प्रतिवेदन पेस गर्ने भन्ने तयारी छ । आरोपमा प्रमाण पुगेका व्यक्तिहरूको नाम प्रतिवेदनमा किटान गर्ने तयारी छ । समितिले मुख्यतः तीन विषयलाई प्राथमिकता दिएको छ । पहिलो, नीतिगत समस्या । दोस्रो, नियतजन्य समस्या के हो, क–कसमा देखियो ? तेस्रो, परिस्थितिजन्य समस्या के रह्यो ?

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *