जनसेवा सहकारीले एकल अंकमा सदस्यलाई ऋण दिने

काठमाण्डौं । पोखराको पुरन्चौरमा मुख्य कार्यालय रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सस्तो ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । संस्थाले सदस्यहरुमा उद्यमशीलता विकास गर्ने उदेश्यले एकल अंकमा ऋण लगानी गर्ने भएको हो । संस्थाका व्यवस्थापक प्रेमसागर अधिकारीले सदस्यहरुलाई ९.८५ प्रतिशतमा ऋण लगानी गर्ने बताए । सदस्यहरुको कृषि,पशुपालन र व्यापार व्यववसायलाई विशेष प्राथमिकतामा राखेर ऋण लगानी गर्न लागेको उनले जानकारी दिए । सहकारी संस्थाहरुले पनि एकल अंकमा ऋण लगानी गर्न सक्ने र बैंक वित्तीय संस्थाकै सरह सस्तो ब्याजमा ऋण पाएपछि सदस्यहरुलाई व्यवसाय विस्तारमा टेवा पुग्ने उनको भनाई छ । संस्थाले सदस्यहरुलाई ५ बर्षको लागि परियोजनाको आधारमा ५ बर्षसम्मको लागि यस्तो ऋण दिने उनले जनाए । पछिल्लो समय सहकारी संस्थाहरुमा तरलता वृद्धि हुँदै गएको छ भने कतिपय संस्थामा त अधिक तरलताको समस्या रहेको छ ।

सरकारले सहकारीमा ऋण लगानीको लागि १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकिदिएको छ । तर कतिपय सहकारी संस्थाले सन्दर्भ ब्याजदर भन्दा पनि तल गएर सदस्यहरुलाई सस्तो र सरल रुपमा ऋण प्रवाह गर्ने उदेश्यका साथ एकल अंकमा ऋण लगानी गर्दै आएका छन् । जनसेवा सहकारीको गत असार मसान्तसम्म शेयर पुुँजी ३ करोड ६१ लाख ८४ हजार, जगेडा कोष २ करोड १८ लाख १८ हजार,बचत संकलन ३२ करोड २२ लाख ६३ हजार र ऋण लगानी २९ करोड २५ लाख ८३ हजार रहेको छ । संस्थाको अन्य कोषहरुमा ६० लाख ३७ हजार, संस्थागत पुँजी २ करोड ३७ लाख ८७ हजार र कुल सम्पत्ति ४० करोड ४४ लाख ३९ हजार रहेको छ । संस्थामा गत असार मसान्तमा ३२.२३ प्रतिशत तरलता रकम रहेको छ । २ हजार ३८७ जना शेयरर सदस्यहरुको संस्थामा ४ सय ६६ जना सदस्यले संस्थाबाट ऋण लिएर व्यापार व्यवसाय गर्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *