गोलकिपर जियारथ नायक बनेपछि भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको पहिलो सेमिफाइनलमा गोलकिपर जियारथ शेख नायक बनेपछि नेपालले भुटानविरुद्ध ‘पेनाल्टी सुटआउट’मा ४–१ को जित निकाल्दै साफ यू–२० च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ । टाइब्रेकरमा नेपालबाट पहिलो प्रहारका निम्ति आएका राम थापाले सहजै गोल गरे । दोस्रो अभिनाश स्याङतान, तेस्रो सिमान्त थापा र चौथो प्रहारका निम्ति आएका गोलकिपर जियारथ शेखले सहजै गोल गरेपछि नेपालले फाइनलमा स्थान पक्का गरेको हो । पेनाल्टीमा भुटानका तर्फबाट जेत्सुन दोर्जीले मात्र गोल गरे । भुटानबाट दोस्रो प्रहारका निम्ति जिग्मे नाम्गेल आएका थिए ।

उनको प्रहारलाई नेपालका गोलकिपर जियारथले विफल बनाए । भुटानबाट तेस्रो प्रहारका लागि युग्येन दोर्जी आएका थिए । उनको प्रहारलाई पनि जियारथले रोके । त्यसअघि, खेलको निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेका थिए । ५६औँ मिनेटमा जेत्सुन दोर्जीले गोल गर्दै घरेलु समर्थकमाझ भुटानलाई अग्रतामा राखेका थिए । तर, ७८औँ मिनेटमा निराजन धामीले गोल गरेपछि नेपाल खेलमा फर्किएको थियो । त्यसको एक मिनेटअघि किंग्जाङ तेन्जिनले दोहोरो पहेँलोपछि रातो कार्डको दर्शन गर्दै मैदान छोड्दा भुटान १० खेलाडीमा समेटिएको थियो । नेपालले अब उपाधिका निम्ति भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *