टीआरसी विधेयकको अमेरिकासहित १० राष्ट्रले गरे स्वागत
काठमाडौं । अमेरिका लगायत १० राष्ट्रले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक नेपालको दुवै सदनबाट सर्वसम्मत रुपमा पारित भएकोमा स्वागत गरेका छन् । अमेरिका, स्विजरल्यान्ड, अस्ट्रेलिया, बेलायत, नर्वे, जापान, फिनल्यान्ड, युरोपियन युनियन, जर्मनी र फ्रान्सले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकको स्वागत गरेका हुन् । नेपालको सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा पारित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (संशोधन) विधेयकको हामी निम्नानुसारका हस्ताक्षरकर्ता स्वागत गर्दछौँ, विज्ञप्तिमा भनिएको छ । नेपाल सरकारले अगाडीको मार्ग पहिल्याउँदै गर्दा आफूहरु पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्याउने सम्भावित संयन्त्रहरूको खोजी गर्नेतर्फ लागको उनीहरुले जनाएका छन् ।
निर्णय प्रक्रियाहरूमा पीडितको निरन्तर सहभागिताले सत्य निरूपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउनेछ, १० राष्ट्रले संयक्त विज्ञप्तिमा भनेका छन् । भविष्यमा चाल्नुपर्ने सम्भावित कदमहरूको सम्बन्धमा मूल्याङ्कन गर्न सकियोस् भनी सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न सघाउन के–कस्ता विशेष आवश्यकताहरू छन् भन्ने विषयमा नेपाल सरकारबाट आफूहरुले जान्न चाहेको उनीहरुले बताएका छन् । नेपालको इतिहासको यस खण्डलाई सफल निष्कर्षमा पुर्याउन सबै सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने बेला आएको छ, विज्ञप्तिमा भनिएको छ ।