अनलाइन भुक्तानीमा मदिरा, चमेनागृह र होटल व्यवसायीले भ्याटको १० प्रतिशत बैंक खातामा उपभोक्तालाई फिर्ता गर्नुपर्ने

काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय माध्याम (अनलाइन) बाट गर्दा १० प्रतिशत रकम फिर्ता दिनुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले उपभोक्ताले सेवा खरिद गरी तिरेको मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत रकम फिर्ता गर्न निर्देशन दिएको हो । विभागले निर्धारण गरेका वस्तु तथा सेवा खरिदको मूल्य विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता गर्न विभागले निर्देशन दिएको हो ।

‘कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरि निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम निजको बैंक खातामा फिर्ता गर्नुपर्नेछ,‘ मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (ख) मा व्यवस्था उल्लेख छ । मूल्य अभिवृद्धि कर ऐनअनुसार विभागको भदौ २१ गतेको निर्णय बमोजिम मदिरा पिउने केन्द्र (वार) बाट प्रदान गरिने सेवा, चमेनागृहबाट प्रदान हुने सेवा र सबै प्रकारका होटल, मोटल, लज, गेष्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवा खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गरेमा करको १० प्रतिशत रकम फिर्ता गर्नुपर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *