मुख्यमन्त्री केजरीवालले दिए पदबाट राजीनामा
काठमाडौं । दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिएका छन् । केजरीवालले लेफ्टिनेन्ट गभर्नर विनयकुमार सक्सेनालाई मंगलबार राजीनामा बुझाएका छन् । यस वर्ष राष्ट्रिय निर्वाचनमा मोदीसँग प्रतिस्पर्धा गर्ने विपक्षी गठबन्धनका प्रमुख नेता केजरीवाललाई मार्चमा उनको सरकारले मदिरा लाइसेन्स बाँडफाँटमा घुस लिएको आरोपमा हिरासतमा लिइएको थियो । उनी भ्रष्टाचार अनुसन्धानको सामना गरिरहेका धेरै विपक्षी हस्तीमध्ये एक हुन् ।
उनको पार्टीले उनको गिरफ्तारीलाई मोदीको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले बनाएको ‘राजनीतिक षड्यन्त्र’ भनेको छ । सर्वोच्च अदालतले गत साता उनलाई आधिकारिक फाइलहरूमा हस्ताक्षर नगर्ने वा आफ्नो कार्यालय नजाने सर्तमा जमानत दिएको थियो । केजरीवालले आगामी वर्षको प्रारम्भमा हुने दिल्ली निर्वाचनमा जनताबाट नयाँ जनादेश खोज्नका लागि राजीनामा दिएको प्रतिक्रिया दिए ।