बंगलामुखी सहकारीको १७औं साधारणसभा सम्पन्न, मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाको १७औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षता एवं भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा बोल्दै अध्यक्ष लाखाजुले साधारण सभा यातायात खर्च बुझ्ने, खाजा खाने र प्रतिवेदन बुझ्ने मात्र नभई सदस्यहरुको सक्रिय सहभागिता हुनुपर्ने औंल्याए । उनले साधारण सभामा सचिव र कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने हुँदा सदस्यको उपस्थिति महत्वपूर्ण भएको जनाए । सदस्यहरुले साधारण सभामा सहभागी भएर यातायात खर्च मात्रै बुझ्ने र बन्दसत्रमा नबस्ने हो भने कतियप सञ्चालकले आफू अनुकुल निर्णय गर्न सक्ने उनले जनाए । सहकारी र बैंकमा धेरै फरक रहेको भन्दै लाखाजुले सहकारीमा सबै सदस्य मालिक हुने र सबैको समान अधिकार रहेको एवं आफ्नो लागि आफैंले बचत र ऋणको ब्याज तोक्न सक्ने उनले बताए । सहकारीले लाभांश मात्र नबाँडी सदस्यहरुले गरेको बचत र ऋणको कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता पाउने जनाए । समयमा लेखा परीक्षण नगर्ने, सदस्यलाई वार्षिक प्रतिवेदन नदिने र मासिक बचत नलिने संस्था सहकारी नभएको उनले प्रष्ट पारे । अब सहकारीलाई सहकारीकै रुपमा सञ्चालन गर्नुपर्ने र त्यसका लागि समुदायमा आधारित सहकारी संस्थालाई बढावा दिनुपर्नेमा उनको जोड छ ।

सभामा सूर्यविनायक नगरपालिका वडा नं. २ का वडा अध्यक्ष प्रदिप कार्कीले बंगलामुुखी सो भेगकै सबल र सक्षम संस्थाको रुपमा स्थापित भएको भन्दै प्रविधि प्रयोगमा पनि अगाडि रहेको बताए । पछिल्लो समय सहकारी क्षेत्रमा बिचलन आएको भन्दै उनले बढी ब्याजको लोभले नचिनेका व्यक्तिले खोलेको सहकारीमा बचत जम्मा गर्दा स्थानीयको धेरै पैसा डुबेको बताए । ब्याजको लोभमा नपरी स्थानीयहरुले खोलेका र समुदाय तथा सदस्य केन्द्रीत संस्थामा कारोबार गर्न उनले आग्रह गरे । सहकारी मूल्य, मान्यता र सिद्धान्तमा चलेका सहकारी संस्था सुरक्षित रहेको भन्दै अध्यक्ष कार्कीले त्यस्ता संस्थामा मात्र सदस्य बन्न सुझाव दिए । सदस्यले लिएको ऋणको ब्याज नै संस्थाको आम्दानी भएकाले ऋणको साँवा ब्याज समयमा तिर्न र मासिक बचत गर्न समेत सदस्यहरुलाई उनले सुझाए । पछिल्लो समय मुलुकभर आएको बाढीपहिरोको कारण ठुलो जन धनको क्षति भएको भन्दै उनले सहकारी संस्थाले पनि सामाजिक उत्तरदायित्व सम्झेर विपतमा परेकाहरुको राहत र उद्धारमा सघाउन आग्रह गरे । सभामा सोही नगरपालिकाका सहकारी प्रमुख राजेन्द्रकुमार श्रेष्ठले कतिपय सहकारी संस्थाले सीमित व्यक्तिको बीचमा मात्रै साधारण सभा गर्ने गरेको भन्दै बंगलामुखीको भने सदस्यको उपस्थिति उल्लेख रहेको बताए । सूर्यविनायक नगरपालिका २ सय ३ वटा संस्था रहेको र ती संस्थाको नियमन तथा अनुगमनका साथै प्रवद्र्धनको काम समेत गर्दै आएको उनले जानकारी दिए । सभामा संस्थाका अध्यक्ष श्रेष्ठले समुदायमा आधारित दिगो र गुणस्तरीय प्रविधियुक्त संस्था बनाउन आफुहरु लागि परेको बताए । संस्थाले सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षमा मात्रै नभई वित्तीय तथा प्रविध साक्षरता, स्वास्थ्य शिविर एवं थुप्रै सामाजिक क्रियाकलाप समेत गर्दै आएको उनले जनाए । विश्वमा आएको आर्थिक मन्दीको प्रभाव मुलुकको अर्थतन्त्रमा समेत पर्दा कतिपय सहकारी संस्थाले बचत फिर्ता गर्न नसके पनि संस्थाले भने सदस्यहरुको विश्वासलाई कायम गरेकाले कुनै समस्या झेल्नु नपरेको उनले बताए । संस्थाले सहकारी ऐन नियमका साथै सहकारीको सिद्धान्तलाई पालना गरेर अगाडि बढेको र सदस्यहरुलाई गुणस्तरीय सेवा दिएर आर्थिक सामाजिक रुपान्तरण गर्ने लक्ष्य रहेको उनको भनाई छ । संस्थाका सचिव मोहनकृष्ण श्रेष्ठले आ.ब.८०।८१ को प्रगति समीक्षा र आ.ब.८१।८२ को प्रस्तावित नीति तथा कार्यक्रम सभामा प्रस्तुुत गरेका थिए ।

संस्थाले स्थानीय सरकारसँगको सहकार्यमा आर्थिक तथा सामाजिक रुपान्तरणको कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य बीमा सञ्चालनमा ल्याउने, संस्थागत पुँजी वृद्धि गर्ने र निष्कृय सदस्यहरुलाई सक्रिय बनाउने लगायतको नीति लिएको उनले जनाए । कोषाध्यक्ष श्याम प्रधानले आ.ब. २०८०।८१ आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी १४ करोड ५० लाख, बचत संकलन १ अर्ब, ऋण लगानी १ अर्ब ११ करोड ९१ लाख, जगेडा तथा अन्य कोष ५ करोड ३८ लाख गरी कुल सम्पत्ति १ अर्ब ३३ करोड ४० लाख पुगेको जानकारी दिए । संस्थाले गत आ.व.मा १ करोड ९८ लाख नाफा आर्जन गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठले संस्थाको कारोबारलाई पूर्ण रुपमा डिजिटल बनाउने प्रक्रिया अगाडि बढाएको र ई–टेलर सञ्चालनमा ल्याइसकेको बताए । सदस्यहरुलाई डिजिटल प्रयोगका सम्बन्धमा विभिन्न समयमा तालिम प्रदान गरेकाले यसको प्रयोग बढेर गएको उनले जानकारी दिए । सभामा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा छोरीलाई सम्मान गर्नुुका साथै १० कित्ता शेयर प्रदान गरिने भएको छ । त्यसैगरी उत्कृट बचतकर्ता र ऋणीलाई समेत सभामा सम्मान गरिएको थियो ।

नयाँ सञ्चालक समिति चयन
मोहनकृष्ण श्रेष्ठ अध्यक्ष, सरु श्रेष्ठ उपाध्यक्ष, बालकृष्ण श्रेष्ठ सचिब ,श्याम प्रधान कोषाध्यक्ष, सदस्यहरुमा बिबेक श्रेष्ठ , नबिनमान श्रेष्ठ ,करुणा महर्जन , अनिता श्रेष्ठ, र बाबुकृष्ण श्रेष्ठ सञ्चालक समिति चयन भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *