उपप्रधान सिंहको रास्वपा लक्षित टिप्पणी- वैकल्पिक पार्टीमा इमानदारिता देखिएन
काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार विधिको शासन कायम गर्न लागिपरेको बताएका छन् । सरकार कसैप्रति पूर्वाग्रही नभएको समेत उनले प्रस्ट पारेका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको दीपावली विशेष कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले भने, ‘यो कांग्रेस एमालेको संयुक्त सरकारले कसैप्रति द्वेषभाव राखेको छैन र राख्दैन पनि । सरकारले कसैलाई लखेट्नुपर्ने कारण छैन । आफूलाई वैकल्पिक शक्तिहरु भन्नेहरूले कानुनको पालना गर्न नहुने भन्दै उनले प्रश्न गरे । उनले भने, ‘विधिको शासन लागू गर्दा हामीलाई लागू हुनुहुँदैन । हामी नयाँ पार्टी हौँ भन्न मिल्छ ?’ राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनले वैकल्पिक पार्टीमा इमानदारिता नदेखिएको बताए ।
‘हामी वैकल्पिक पार्टी हौँ भन्नेहरूको हविगत नदेखेको होइन । अघिल्लो चुनावमा आएका वैकल्पिकहरू अहिले कहाँ छन् ? उनले भने, ‘अहिले पनि आएकाहरूको पनि हालत त्यही हुने हो । यिनीहरूमा इमान्दारीता हुनुपर्दैन ? यिनीहरूलाई केही गर्नै नहुने ?’ उनले भने ।