ईभी स्कुटर उत्पादन गर्ने ग्रन्थ ईभीमा लगानीका लागि आह्वान
काठमाडौं । नेपालमै दुई पांग्रे विद्युतीय सवारी साधन उत्पादनमा जुटेको ग्रन्थ इलेक्ट्रीक भेइकल (ईभी)ले लगानी गर्न आह्वान गरेको छ । दुई पांग्रे ईभीको महत्वपूर्ण मोडमा रहेको यस कम्पनीले इच्छुक लगानीकर्ता र रणनीतिक साझेदारको खोजिमा रहेको जनाएको छ । स्थानीय रूपमा निर्माण गरिएको परियोजनाले नेपालभित्र रोजगारी सिर्जना र आर्थिक वृद्धिमा योगदान पुर्याउने योजनामा रहेको यस कम्पनीले लगानीका लागि आह्वान गरेको हो । तत्काल कम्पनी आईपीओ निष्काशनको चरणमा नरहेकाले निर्माण क्षमता बढाउन थप लगानी आवश्यक रहेको कम्पनीको भनाइ छ । कम्पनीले आफ्नो उत्पादन र वितरणको सञ्जाललाई मजबुत बनाएको र नेपालको विभिन्न भूभागका लागि विशेष रूपमा डिजाइन गरिएका स्कुटरको रेन्ज २४० किमि रहेको जनाएको छ ।
उक्त स्कुटर नेपालमा २ लाख ८९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसले आधुनिक विद्युतीय स्कुटरको मागलाई पुरा गर्न अपेक्षा रहेको कम्पनीको भनाइ छ । ‘हाल आयातीत स्कुटरको माग उच्च छ । तर, यो पुरा गर्न नेपालमा निर्माण प्रक्रिया विस्तार गर्न आवश्यक छ । हालको क्षमता पनि उत्पादनसँगै वृद्धि गर्न आवश्यक हुन्छ, क्षमता बढेसँगै हामी देशभर र बाहिर समेत आपूर्तिलाई सुनिश्चित गर्छौं । स्कुटरमा ब्याट्री र मोटरमा ७ देखि १० वर्षको वारेन्टी रहेको छ । जसले नेपालका कुनै पनि उकालोमा दुई जना बोकेर सजिलै चढ्न सक्नेछ । साथै, थप लगानीले कम्पनीलाई यो गुणस्तर कायम राख्न सहज हुने कम्पनीको भनाइ छ । साथै, कम्पनीले नेपालको दुई पांग्रे विद्युतीय सवारी साधन बजारमा नेतृत्व गर्ने लक्ष्य लिएको छ । भविष्यमा कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने कम्पनीले जनाएको छ ।