चन्द्रागिरि साकोस र पोखरा रोयल साकोसबीच अन्तरक्रिया सम्पन्न
काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कास्कीको पोखरा महानगपालिका १० बुद्धचोकमा मुख्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच असल अभ्यासका लागि पोखरामा १७ बुँदे सम्झौता भएको छ । नेपालमा सहकारी अभियानका दुई उत्कृष्ठ संस्थाबीच भएको एकदिने अन्तरक्रिया कार्यक्रमकाबीच विभिन्न १७ बुँदे सम्झौता सम्पन्न भएको छ। पोखरा रोयल साकोसको निमन्त्रणामा पोखरा पुगेको चन्द्रागिरि साकोस सञ्चालक समिति, सल्लाहकार समिति, विभिन्न उपसमिति र प्रमुख कर्मचारीहरु सम्मिलित प्रतिनिधिहरु र पोखरा रोयल साकोसका प्रतिनिधिहरुबीच दुवै संस्थाले हासिल गरेका सफलता, सदस्य सेवामा गरिरहेको असल अभ्यास, संस्थाले भोगिरहेका चुनौति, भावी रणनीति साथै सहकारी अभियानमा पुर्याउन सक्ने योगदानका सन्दर्भमा समेत चर्चा गरिएको थियो । २०७७।७८ मा कोभिड महामारीको समयदेखि भगिनी सम्बन्धको रुपमा रहेका दुई संस्थाका अध्यक्षद्धय रुद्रकुमारी गुरुङ्ग र योगेन्द्र कुमार कुँवरले संस्थाको गतिविधीलाई थप गतिशील, समयानूकूल, सदस्यमूखी र सहकारी अभियानमा योगदान दिने उद्देश्यका साथ १७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर समेत गरेका हुन् ।
सम्झौता बमोजिम सहकारी क्षेत्रको साख वृद्धि, मानव संसाधनको क्षमता अभिवृद्धि, प्रविधीमैत्री सेवामा पहुँच वृद्धि, एकरुपता, सुशासन, असल अभ्यासहरुको आदानप्रदान र अनुशरण, वस्तु तथा सेवाको विकास र विस्तारमा संयुक्त खोजी गर्ने जस्ता विषयहरुमा दुवै संस्थाले दृढताका साथ लागि पर्न अध्यक्षद्धयले प्रतिबद्धता व्यक्त गरेका छन्। अन्तरकृया कार्यक्रममा पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्ग र चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले व्यवहारोपयोगी फरक फरक विषयमा संक्षिप्त प्रस्तुतीकरण दिएका थिए । सिईओद्वय गुरुङ्ग र श्रेष्ठ नेफ्स्कूनद्वारा वार्षिक रुपमा प्रदान गर्ने साकोस अभियानको उत्कृष्ठ सिईओ पुरस्कार विजेताहरु हुन् । गुरुङ्ग वर्ष २०२४ र श्रेष्ठ वर्ष २०२३ मा उत्कृष्ठ सिईओको अवार्डबाट पुरस्कृत भएका थिए । त्यसैगरि पोखरा रोयल साकोस र चन्द्रागिरि साकोसले संस्थागत रुपमा राष्ट्रिय सहकारी महासंघ, नेफस्कून र राष्ट्रिय सहकारी बैकबाट सहकारी क्षेत्रका उत्कृष्ठ पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका संस्थाहरु हुन् । हाल दुवै संस्थाहरु नेफस्कूनद्धारा सञ्चालित स्तरीकरण कार्यक्रममा आबद्ध रहेका छन्। चन्द्रागिरि साकोसमा करिब २२ हजार शेयर सदस्यहरू रहेका छन् भने पोखरा रोयलमा ९३५६ शेयर सदस्यहरू छन् ।