लामिछानेलाई पोखराबाट बयानका लागि रुपन्देही लगिंदै
काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देहीको बुटवल लगिंदै छ । बुद्ध एयरको बिहान ७ बजेको उडानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लैजाने तयारी छ । तर, विमानस्थलमा कुहिरो लागेकाले उडान ढिला भएको कास्की प्रहरीले जनाएको छ ।
बयानका लागि रुपन्देही लैजाने प्रहरीको तयारी भएपछि रास्वपा र सहकारी पीडित दुवै पक्षले विरोध प्रदर्शनको तयारी गरेका छन् । सुप्रिम सहकारी पीडितले उनलाई बयान लिने सरकारी वकिलको कार्यालय तथा जिल्ला अदालत परिसरमा विरोध प्रदर्शनका लागि पीडित सदस्यहरूलाई सूचित गरेर बोलाएको छ भने रास्वपाले सबै कार्यकर्तालाई बिहानै लुम्बिनी गेटमा उपस्थितिका लागि निर्देशन गरेको छ । मंगलवार नै बयान सकेर फर्काउने तयारी प्रशासनको रहेको सूचनामा उल्लेख गरिएको छ ।