भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूह मिलेर बनाउने होटलको निर्माण सुरु

काठमाडौं । दरबारमार्गमा २५ तलासहितको अन्नपूर्ण स्क्वायर निर्माण सुरु भएको छ । भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा अन्नपूर्ण स्क्वायर निर्माण थालेका हुन् । उक्त स्थानमा पहिला होटल अन्नपूर्ण रहेको थियो । सोमबार एक विशेष समारोहकाबीच भूमिपूजा सम्पन्न गर्दै कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा निर्माण थालिएको बताए । ‘भारतको आर्किटेक्चर कम्पनीले यसको डिजाइन गरेको छ । ‘दुई चरणमा काम सम्पन्न गर्ने योजना बनाएका छौं । २०८५ वैशाख १ गतेदेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।’ अन्नपूर्ण स्क्वायर २५ तलाको हुनेछ, जहाँ होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा रहनेछ भने ४० कोठा अपार्टमेन्ट हुनेछ । भाटभटेनीको एउटा स्टोर पनि त्यहाँ रहनेछ । कम्तीमा पनि ६ अर्ब रुपैयाँको लगानीमा निर्माण थालिएको होटलसँगै क्यासिनो पनि सञ्चालनमा आउनेछ ।

‘सुन्दर नेपालको सुन्दरताको प्रतीक निर्माण गर्ने लक्ष्य राखेर काम अघि बढाएका छौं, भाटभटेनी सुपरमार्केटका अध्यक्षसमेत रहेका गुरुङले भने, ‘२०८५ वैशाख १ गतेबाट होटल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । अहिले पुरानो संरचना भत्काइरहेका छौं । नगरपालिकाले जति छिटो अनुमति दिन्छ हामीले त्यति नै छिटो निर्माण पनि थाल्नेछौं । साढे तीन सय कोठा रहने उक्त होटल नेपालकै गौरव गर्न सक्ने संरचनाको रूपमा निर्माण गर्न लागिएको भए पनि मूल्य भने ‘रिजनेवल’ हुने उनले बताए । ‘होटल र आर्केड निर्माण हुन्छ । होटल अलग्गै र आर्केड अलग्गै हुन्छ, गुरुङले भने, ‘साढे तीन सय कोठासहितको होटल निर्माण हुन्छ । बैंक्वेट हल २५ सय, २ हजार र १५ सय क्षमताका तीनवटा हुनेछ । धेरै राम्रा कोठा हुनेछन् तर महंगा होइनन् । मूल्य रिजनेबल हुन्छ ।’ आर्केड डेढ वर्षमा र होटल साढे दुई वर्षमा निर्माण सकिने पनि उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *