नबिल बैंकले विदेशी साझेदार भित्र्याउने
काठमाडौं । नबिल बैंकले विदेशी साझेदार भित्र्याउने भएको छ । बैंक सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले मंसिर २७ गते ४०औँ वार्षिक साधारण सभा डाकेको छ । साधारण सभाले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कनका लागि मूल्यांकनकर्ता नियुक्त गर्नदेखि आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित १० प्रतिशतका दरले २ अर्ब ७० करोड ५६ लाख ९९ हजार रुपैयाँ नगद लाभांश लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्नेछ ।
साथै, सञ्चालक समिति र लेखापरीक्षकको आर्थिक वर्ष २०८०।८१ को प्रतिवेदन, बैंकका सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र नबिल स्टक डिलरको वित्तीय विवरण, आर्थिक वर्ष २०८१।८२ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । यस्तै, सभाले साधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जनाको निर्वाचन, संस्थापक सेयरधनी आईएफआईसी बैंक पीएलसी बंगलादेशको प्रतिनिधित्व गर्ने सञ्चालक सइद मन्सुर मुस्तफाको नियुक्तलाई अनुमोदन गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागीता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।