अन्तर्राष्ट्रिय उडानमा निगमको भाडा पाँच हजारसम्म घट्यो
काठमाडौं । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानको भाडादर पाँचहजारसम्म घटाएको छ । निगमले दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि बजार भाडादरमा २५ सय रुपैयाँ घटाएको छ । यस्तै दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताको भाडादरमा पाँच हजार छुट दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द भएको कारण वायुसेवा निगमको हवाई उडानहरू कटौती भएको र भाडादर उच्च भएको भन्दै भाडा घटाएको निगमले जनाएको छ ।
निगमले नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी भए जानकारी गराउन पनि अनुरोध गरेको छ । दिइएको छुट जहाजको सिट उपलब्धताअनुसार पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध गराइने निगमले जनाएको छ । निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत २०२४ नोभेम्बर १ देखि २२ तारिखसम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीकोे सिफारिसमा काठमाडौं–दिल्ली–काठमाडौं ३७ जनालाई सतप्रतिशत छुट दिएको छ । यस्तै ३३ जना बिरामीका आफन्तलाई ५० प्रतिशतमा टिकट उपलब्ध गराएको जनाएको छ । त्यसैगरी २१ जना सरकारी कर्मचारीलाई १५ प्रतिशत छुटमा टिकट उपलब्ध गराएको छ ।