क्रेष्ट माइक्रोको नयाँ बीमालेख योजना सार्वजनिक

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले नयाँ बीमा पोलिसी सार्वजनिक गरेको छ । कम्पनीले समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजना सार्वजनिक गरेको हो । समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजनामा बीमा गरेपश्चात नियमित ५।५ वर्षको अन्तरालमा बीमाङ्क रकमको निश्चित प्रतिशत रकम अग्रिम रूपमा फिर्ता हुँदै जाने कम्पनीले जनाएको छ । यसका साथै बीमा अवधि समाप्तिमा बाँकी बीमाङ्क रकम र सुनिश्चित थप रकम समेत प्रदान हुनेछ । नियमित अन्तरालमा प्राप्त हुने रकमले व्यक्तिको जीवनकालमा विविध कार्यमा आर्थिक सहायता प्रदान गर्दछ भन्ने कम्पनीको उद्देश्य रहेको जनाइएको छ । न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको बीमा गर्न सकिने छ । बीमितको प्रवेश उमेर न्यूनतम १८ वर्षदेखि अधिकतम ५० वर्षसम्म रहने छ । अधिकतम बीमा समाप्ति उमेर ७० वर्ष रहने कम्पनीले जनाएको छ । बीमा अवधि १५।२०।२५ वर्ष मध्ये बीमा गर्ने व्यक्तिले रोज्न सक्ने जनाइएको छ ।

उक्त पोलिसी खरिद गर्दा त्रैमासिक, अर्धवार्षिक र वार्षिकरूपमा बीमाशुल्क भुक्तान गर्न सकिने छ । अग्रिम रकम फिर्ता, न्यून बीमाशुल्क, सर्वोत्तम बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितहरूका लागि भलाइ, वृद्धावस्थाको सहारा, बालबच्चाको सुनिश्चित भविष्य, बीमा गर्दा नै भविष्यमा प्राप्त हुने रकमको सुनिश्चितता जस्ता विशेषतायुक्त यस योजनाले दुर दराजसम्म बीमा साक्षरता अभिवृद्धिमा अहम भूमिका खेल्ने विश्वास कम्पनीको छ । बीमाशुल्कवापत न्यून रकम बुझाई बीमालेख खरिद गर्दाको समयमा नै जीवनको सुरक्षणको सुनिश्चितता हुनेछ । बीमाङ्कको निश्चित रकम फिर्ता हुँदै गएपनि पूर्ण बीमाङ्क बराबरको जीवनको सुरक्षण कायम नै रहने, अधिकतम परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाको कारण मृत्यु भएमा थप १०० प्रतिशत बीमाङ्क रकम, दुर्घटनाका कारण अंगभंग भएमा बीमाङ्कको १०० प्रतिशतसम्म अंगभंग सुविधा, दुर्घटनाको कारण अशक्तता भएमा बीमाशुल्क छुट सुविधाको सुनिश्चितता हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *