प्रहरी निलम्बनको अवधि प्रहरी विधेयकमा तीन महिनाभन्दा बढी निलम्बन गर्न नमिल्ने उल्लेख

काठमाडौं । प्रहरी निलम्बनको अवधि तीन महिना बनाउन लागिएको छ । विद्यमान प्रहरी नियमावली २०७१ अनुसार कुनै प्रहरी कर्मचारीलाई अभियोग लागेमा जाँचबुझ गर्न भन्दै ६ महिनासम्म निलम्बन गर्न सक्ने प्रावधान छ । तर, संसद्‌मा पेश हुन लागेको प्रहरी विधेयकमा भने तीन महिनाभन्दा बढी निलम्बन गर्न नमिल्ने उल्लेख गरिएको छ । कुनै प्रहरी कर्मचारीमाथि अभियोग लागेमा जाँचबुझ गर्नका लागि अख्तियारवालाले निलम्बन गर्न सकिने उल्लेख गरिएको छ ।

तर निलम्बनको अवधि भने तीन महिना भन्दा बढी नहुने प्रस्ताव गरिएको छ । जसकारण कुनै अभियोग लागेमा तीन महिनाभित्र छानबिन गरेर टुंग्याइसक्नुपर्ने हुन्छ । यदि तीन महिनाभित्र कारबाही किनारा नलगाएमा वा निलम्बन रहेकै अवस्थामा कुनै प्रहरी कर्मचारी नोकरीबाट अनिवार्य अवकाश पाएमा वा मृत्यु भएमा निलम्बन स्वतः फुकुवा भएको मानिने पनि विधेयकमा उल्लेख गरिएको छ । निलम्बन गर्नुपर्दा त्यसको आधार र कारण समेत प्रष्ट खुलाएर सम्बन्धित कर्मचारीलाई दिनुपर्ने हुन्छ । यदि फौजदारी कसुरमा कुनै प्रहरी कर्मचारी पक्राउ परी अदालतमा मुद्दा दर्ता भएको अवस्थामा भने त्यस्तो मुद्दा फैसला नभएसम्म स्वतः निलम्बनमा रहेको मानिने उल्लेख गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *