नेपालको जलविद्युतमा लगानीका लागि कोरियन लगानीकर्तालाई इप्पानको आग्रह

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले दक्षिण कोरियाली लगानीकर्ताहरूलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । दक्षिण कोरियामा आयोजित नेपाल इन्भेष्टर सेमिनारलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको र नेपालको कन्ट्री रेटिङसमेत दक्षिण एसियामा भारत बाहेक सबैभन्दा राम्रो रहेकोले ढुक्कसँग लगानी गरी सहज र सुरक्षित प्रतिफल लिन आग्रह गरेका हुन् । नेपालको जलविद्युत क्षेत्रमा कोरियन लगानीमा २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको निर्माण अघि बढाएकोमा धन्यवाद दिँदै अध्यक्ष कार्कीले ऊर्जा उत्पादनको ठुलो सम्भावनालाई साकार पार्न कोरियाबाट धेरै ठुलो लगानीको अपेक्षा गरेको बताए । कोरियामा बसेका नेपालीहरूले समेत नेपालको ऊर्जा क्षेत्रमा प्रवर्द्धक तथा साधारण शेयर होल्डर भएर लगानी गरेको स्मरण गर्दै कार्कीले राष्ट्र र व्यक्तिगत फाइदाका लागि समेत कोरियामा बस्ने नेपालीबाट थप लगानीका लागि आग्रह गरेका छन् । हाल नेपालको जलविद्युतको जडित क्षमता २०० आयोजनाबाट ३२ सय मेगावाट पुगेकोमा झण्डै ८० प्रतिशत अर्थात् २६ सय मेगावाट निजी क्षेत्रबाट उत्पादन भइरहेको छ ।

४ हजार मेगावाट निर्माणाधीन र त्यतिनै क्षमताका आयोजना वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको, १० हजार मेगावाट क्षमताका आयोजना विद्युत् खरिद विक्री सम्झौता (पीपीए) को पर्खाइमा रहेको र २८ हजार मेगावाट क्षमताका आयोजना विभिन्न चरणमा रहेको कार्कीले बताए । यी आयोजनाको क्षमताले नेपाल विश्वबजारमा क्लिन इनर्जीको हबको रूपमा स्थापित हुने पनि उनको भनाइ छ । ६ हजार साना ठुला नदीनालाबाट २ लाख मेगावाट जलविद्युत उत्पादनको सम्भावना रहेको कार्कीले बताए । ुविदेशी लगानी विशेषगरी कोरियन लगानीका लागि नेपालमा धेरै ठुलो अवसर छ । नेपालको क्षत्रीय बजारमा भइरहेको विद्युत् व्यापारले क्षेत्रीय ऊर्जा सहकार्यलाई दर्शाइरहेको छ । यसले नेपाल एसियामा ठुलो ऊर्जा निर्यातकर्ता मुलुक बन्न सक्ने देखाउँछ,ु कार्कीले भने । सन २०३५ सम्म नेपालले २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएकोमा १५ हजार मेगावाट निर्यात गर्ने र १३ हजार ५०० मेगावाट६ आन्तरिक खपत गर्ने लक्ष्य लिएको छ । यसका लागि नेपाललाई ५० बिलियन डलर उत्पादनमा र ८ बिलियन डलर प्रसारण र वितरण संरचना निर्माणमा लगानी चाहिने कार्कीले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *