तीन वटा बचत तथा ऋण सहकारी संस्थाले पाए प्रोवेसन ब्राण्ड
काठमाण्डौं । यो वर्ष तीन वटा बचत तथा ऋण सहकारी संस्थाले साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी प्रोवेसन ब्राण्ड प्राप्त गरेका छन् । प्रोवेसन ब्राण्डलाई सहकारी विभागले मान्यता दिएको छ । सल्यानको ग्रामीण साकोस, ललितपुरको ठेचो महिला जागरण र चितवनको लोककल्याणकारी साकोसले पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) ब्राण्ड प्राप्त गरेका छन् । आर्थिक वर्ष २०८०।८१ को प्रोवेशन अन्तिम परिक्षणमा सहभागी ३ साकोसहरु नेफ्स्कूनले प्रदान गर्ने नेपाल सरकारको मान्यता प्राप्त साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी प्रोवेशन ब्राण्ड पाउन सफल भएका हुन् ।
नेफ्स्कूनको बुटवलमा सुरु भएको ३३औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा तीनवटै साकोसलाई प्रावेसन ब्राण्डको प्रतीक ९प्ल्याक० प्रदान गरिएको हो । तीनवटै साकोसले विगतमा प्रोवेसन ब्राण्ड प्राप्त गरिसकेका छन् । ग्रामीण साकोसले यसअघि ७ पटक तथा ठेचो महिला साकोस र लोककल्याणकारी साकोसले २,२ पटक राष्ट्रियस्तरको ब्राण्ड पाइसकेका छन् । पछिल्लो विवरणअनुसार, २४ सय बढी सदस्य रहेको सल्यानको ग्रामीण साकोसमा हाल ३० करोड बढीको कुल सम्पत्ति छ भने संस्थागत पुँजी करिब ११ प्रतिशत छ । त्यसैगरी, ठेचो महिला जागरणमा ३ हजार बढी सदस्य छन्, १६ करोड बढीको कुल सम्पत्ति छ भने संस्थागत पुँजी सात प्रतिशत बढी छ । साढे ७ प्रतिशत बढी संस्थागत पुँजी रहेको लोककल्याणकारी साकोसमा १८५० सदस्य छन् भने ३७ करोड बढी कुल सम्पत्ति छ । नेफ्स्कूनले २०६९ सालबाट प्रोवेशन कार्यक्रम सुरु गरेको हो । नेफ्स्कूनले उद्योग विभागबाट प्रोवेशन ट्रेडमार्कको दर्ता प्रमाणपत्र समेत प्राप्त गरिसकेको छ ।