हनी ट्रयाप प्रकरणमा फरार इन्स्पेक्टर बिनु शाही अदालतमा हाजिर
काठमाडौं । बलात्कार मुद्दामा फसाउने नियतले रकम असुलेको आरोपमा अनुसन्धान अघि बढेपछि फरार सूचीमा रहेकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही अदालत उपस्थित भएकी छिन् ।
उक्त घटनामा आरोपित शाही आइतबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी हुन् । आपराधिक लाभको मुद्दामा प्रतिवादी हुन् । प्रहरी प्रभाग भैंसेपाटीका तत्कालीन इन्स्पेक्टर शाही फेला नपरेपछि फरार भन्दै मुद्दा चलाइरहेको थियो । करिब एक महिनापछि शाही भने अदालतमा आफैँ उपस्थित भएकी हुन् ।
न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा उनको पेशी चढेको छ । अहिले अदालतमा उनको बयान भइरहेको छ । बयान सकिएपछि बहस हुनेछ । त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउने छ । युवती प्रयोग गरेर बलात्कार मुद्दामा एक युवालाई फसाउन खोजेको विनुमाथि आरोप छ । यसअघि इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाउँदै आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
१३ मंसिरमा न्यायाधीश टेकराज जोशीको इजलासले घटनाको मुख्य योजनाकार ताज इस्लामलाई थुनामा पठाउने आदेश गरेको थियो । अरू भने धरौटी र साधारण तारेखमा रिहा भएका छन् ।