मुख्यसचिव र सचिवको सेवा अवधि घटाउन आयोगको प्रस्ताव

काठमाडौं । लोकसेवा आयोगले मुख्यसचिव र सचिवको सेवा अवधि घटाउने प्रस्ताव गरेको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि शुक्रबारको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगले मुख्यसचिवको पदावधि दुई वर्ष बनाउनुपर्ने प्रस्ताव गरेको हो । मुख्य सचिवको सेवा अवधि दुई वर्ष, सचिवको तीन वर्ष र १३औँ तहको अतिरिक्त सचिवको चार वर्ष सेवा अवधि राख्न उपयुक्त हुन्छ, आयोगका अध्यक्ष माधव रेग्मीले भने । हाल मुख्य सचिवको अवधि तीन वर्ष र सचिवको अवधि पाँच वर्षको छ । राज्यव्यवस्था समितिमा छलफल भइरहेको निजामती विधेयकमा पनि मुख्यसचिवको तीन र सचिवको उमेर पाँच वर्ष रहने उल्लेख छ ।

आयोगको प्रस्ताव लागु भएमा मुख्यसचिव र सचिवको सेवा अवधि घट्नेछ । आयोगले एउटै मन्त्रालयमा दुईजना सचिव रहने व्यवस्था हटाई कार्यालयको कार्यबोझको आधारमा कार्यविवरण स्पष्ट गरिगराई सो अनुरुप आवश्यकताअनुसार मन्त्रालय र विभागहरूमा १३औँ तहका अतिरिक्त सचिवको व्यवस्था गरिनुपर्ने जनाएको छ । कार्यालय,निकायमा हुने कार्यचाप बमोजिम अतिरिक्त सचिवको व्यवस्था गर्न उचित देखिएको आयोगले जनाएको छ । राजपत्रांकित विशिष्ट श्रेणी र प्रदेश सचिवको मौजुदा दरबन्दी पुनरवलोकनसम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७८ ले समेत अतिरिक्त सचिव (विशिष्ट श्रेणी) हुनुपर्ने भनि सिफारिस गरेको आयोगको प्रस्तावमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *