देउवाले सरकार र अध्यादेशको विरोध गरेको ‘फेक विज्ञप्ति’ भाइरल भएपछि कांग्रेसको गम्भीर ध्यानाकर्षण
काठमाडौँ । सभापति शेरबहादुर देउवाको नाममा ‘फेक विज्ञप्ति’ भाइरल भएपछि नेपाली कांग्रेसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्यौल सृजना गरी नेपाली जनतालाई दिगभ्रमित गर्ने कुत्सीत मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सन्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
हतास मनस्थितिबाट घृणित कार्य गरिएको भन्दै विज्ञप्तिमा निन्दा गर्दै भनिएको छ, ‘त्यस्ता गैरकानुनी कार्यमा संलग्न जो कसैलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ । कांग्रेसले भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा अनुरोध समेत गरेको छ । यसअघि सामाजिक सञ्जालमा देउवाले वर्तमान सरकारको कार्यशैलीको विरोध गरेको र अध्यादेशको पनि घोर भर्त्सना गरेको भन्दै फेक विज्ञप्ति भाइरल भएको थियो ।