अनलाइनबाटै कृषि बीमा गराउन ७ वटै प्रदेशमा तालिम

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि बीमाको रियल टाइम सफ्टवेयरबारे देशव्यापी रूपमा तालिम सञ्चालन गरिरहेको छ । प्राधिकरणले कोशी प्रदेशबाट तालिम सञ्चालन गरी समाप्त गरिसकेको जनाएको छ । माघ महिनाभित्रै अन्य ६ प्रदेशमा पनि तालिम सञ्चालन गरिसक्ने कार्यतालिका रहेको प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बताए । उनका अनुसार कोशी प्रदेशमा माघ २ गतेबाट ४ गतेसम्म ३ दिने तालिम समापन भएको छ । प्राधिकरणको कोशी प्रदेश कार्यालयमा तालिम सञ्चालन भएको थियो । तालिमको पहिलो दिन बीमा कम्पनीका कर्मचारीहरू र अभिकर्ताहरूलाई दिइएको तालिममा ६० जनाको सहभागीता रहेको थियो । दोस्रो र तेस्रो दिन कृषि ज्ञान केन्द्रका कर्मचारी, महानगरका कर्मचारी, प्रदेश मन्त्रालयका कृषि तथा पशु क्षेत्रका कर्मचारीलाई दिइएको तालिममा ४० जनाको सहभागीता रहेको सूचना अधिकारी निर्मल अधिकारीले बताए । यसैगरी, आज ६ गतेदेखि सुर्खेतमा तालिम सञ्चालन सुरु भएको पनि उनले जानकारी दिए ।

आजदेखि ३ दिनसम्म तालिम सञ्चालन हुनेछ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि बीमाको रियल टाइम सफ्टवेरको सञ्चालनमा ल्याएसँगै अनलाइनबाटै कृषि बीमा गर्नेको संख्या पनि बढदै गएको छ । गत कार्तिक ५ गते सफ्टवेयरको उद्घाटन गरिए पनि मंसिर १६ गतेदेखि पाइलट प्रोगामको रूपमा दुई वटा बीमालेखमा यो सफ्टवेयरको प्रयोग गरिएको थियो । सोही सफ्टवेयरको प्रयोग, अनलाइनबाट कसरी बीमा गर्नका लागि आवेदन दिने, दिएको आवेदनलाई कसरी भेरिफाइ गर्ने लगायतका विषय तालिममा स्पष्ट पारिने जनाइएको छ । कृषि बीमामा सफ्टवेयरको प्रयोग सुरु भएदेखि हरेक दिन १०० भन्दा धेरै किसानले बीमाका लागि अनलाइनबाटै आवेदन दिने गरेको प्राधिकरणले जनाएको छ । उक्त सफ्टवेयरको लगइन पहुँच बीमित, अभिकर्ता, बीमा कम्पनी, बीमा प्राधिकरण, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लगायतलाई हुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *