सहकारी बैंकले कोर बैंकिङ्ग सफ्टवेयर जडान गर्ने
काठमाण्डौं । राष्ट्रिय सहकारी बैंकले अत्याधुनिक प्रविधिको ‘कोर बैंकिङ्ग सफ्टवेयर’ (सिबीएस) बुधबार देखि सञ्चालनमा ल्याउने भएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै नयाँ सफ्टवेयर जडान गर्न लागेको जनाएको हो । त्यसका लागि माघ १६ गते बिहान ६ बजे देखि १९ गते बेलुका ६ बजेसम्म बैंकको इन्टरनेट बैंकिङ, एसएमएस बैकिङ, रेमिट्न्यास सेवा पूर्णरुपमा बन्द रहने र माघ १८ गते निक्षेप जम्मा र चेक सटही सेवाको लागि मात्र बैंकका कार्यालयहरू खुल्ला रहने एक सूचना जारी गरी जानकारी दिएको छ ।
आफ्ना सदस्य सहकारी संघ संस्थालाई अत्याधुनिक, गुणस्तरीय तथा सुरक्षित बैकिङ्ग सेवा दिने उद्देश्यका साथ पुरानो सफ्टवेयरलाई प्रतिस्थापन गरि नयाँ प्रविधिको कोर बैंकिङ सफ्टवेयरको सुरुवात गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए । प्रमुख कार्यकारी गुरागाईले निकट भविष्यमा आफ्ना सदस्य सहकारी संघसंस्थाहरुलाई आधुनिक प्रविधिको आफ्नै सफ्टवेयर प्रदान गर्ने गरी अघि बढेको छ, त्यसका लागि बैंकले लागि नेपाल सहित अन्य देशका उत्कृष्ट सफ्टवेयर कम्पनीहरूसँग छलफल भइरहेको बताए । सहकारी संघ संस्थाहरूसँग मात्र कारोबार गर्दै आइरहेको राष्ट्रिय सहकारी बैंकले ६८ वटा शाखा मार्फत देशभरका १६ हजार ३६९ शेयर सदस्य सहकारी संघ संस्थाहरूसँग कारोबार गर्दै आइरहेको छ ।