शहीदको अपमान बन्द हुनुपर्छ

  • ‘हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए’
  • ‘बन्दैन मुलुक दुईचार सपुत मरेर नगए’

कवि भूपी शेरचनको यो कवितांशले आफ्नो लक्ष्यप्रति समर्पित र बलिदानका लागि तयार युवाहरूलाई ठुलो उत्प्रेरणा प्रदान गरेको थियो । शहीद दिवसमा यी पङ्क्तिलाई स्मरण गर्नु मात्रै पनि पवित्र ध्येयलाई नबिर्सनु हो । हुन त अहिले नेपाललाई शहीद उत्पादन गर्ने कारखानाको रूपमा स्थापित गर्न खोजिएको छ ।

शहीदको परिभाषालाई नै विकृत पार्ने गरी यता स्वार्थको रोटी सेक्ने काम तीव्र रूपले चलेको छ । शहीदको शहादत, तिनको अटल निष्ठा र स्वतन्त्रताप्रतिको प्रतिबद्धता युवापीडितका लागि पलपल प्रेरणाको श्रोत बन्दछ । तर, आज तुच्छ स्वार्थ सिद्धिका कारण जसलाई पनि शहीद घोषणा गर्ने गरेर शहीदको महत्त्व र गरिमालाई अवमुल्यान गर्ने काम भएको छ । एकातिर शहीदको कारखाना नै खोल्ने, भीरबाट लडेर मरेका, गाडी दुर्घटनामा परेका, गुण्डागर्दी, डकैती र बलात्कारको काण्डमा पर्नेलाई समेत शहीदको रूपमा दर्ज गर्ने काम भएको छ । शहीदलाई पारवाडी प्रपञ्च बनाउन केही स्वार्थी तत्त्व लामो कालदेखि सक्रिय छ । पछिल्लो पटक जसलाई पनि जे घटनामा मृत्यु भएको भए पनि दश लाख दिने र शहीद घोषणा गर्ने परम्परा नै बसालिएको थियो । त्यसले सच्चा शहीदको अपमान भएको छ । स्वतन्त्रता र मुक्तिका लागि लडेका, जीवन उत्सर्ग गरेका वीरहरूलाई त सरकार, सत्तारुढ पार्टी, प्रतिपक्ष सबैले बिर्सिसकेका छन् । शहीदको गाथा हाम्रो सन्ततिहरूले कहिले भुले भन्ने नै थाहा छैन । महान् अभियानमा जीवन बलिदान गर्नेका परिवारप्रति सरकारी उदासीनताले गर्दा पनि बाँचेका परिवारका सदस्यहरू आफ्ना स्वर्गीय स्वजनप्रति उदासीन रहने गरेका छन् । शहीदको नाममा राज्यबाट छुट्टाइने सुविधा नेताहरूले आफन्त र आफ्ना सन्तानका नाममा दुरुपयोग गर्ने गरेका घटनाहरू बारम्बार सार्वजनिक भइरहेका छन् । यस्तै घटना शहीदलाई, तिनको योगदान र बलिदानलाई बिर्सने कारण बनेका छन् ।

आज मुलुक जसरी विकृतिको डङ्गुरले छोपिएको छ । त्यसै गरी राष्ट्र, जनता र स्वतन्त्रताको पवित्र भावना मरेर गएको छ । राष्ट्रलाई अपराधको केन्द्र बनाउने, भ्रष्टाचार, बेथिति र बेरोजगारीको अखडा ठान्ने प्रवृत्तिले शहीदको सम्मान गर्न सक्दैन । शहीदको सम्मान गर्न त जनता, राष्ट्र र स्वतन्त्रतालाई शिरोपर गर्न सक्ने उद्धार चिन्तन र व्यवहार चाहिन्छ नेताहरूमा । नेताका कारण मौलाएको अपसंस्कृतिका बाहक युवा पीढी पनि बन्दै जानु दुर्भाग्यपूर्ण कुरा हो । त्यसलाई नियन्त्रण गर्न अब युवा पुस्ताको अग्रसरताको खाँचो देखिएको छ । राजनीतिमा युवा पुस्ता भनेको फगत उमेर होइन । उमेर त एउटा पक्ष मात्र हो । भावना, विचार, कार्यशैली, सक्रियता, निष्पक्षता र सिद्धान्तनिष्टताले नै नयाँ, ताजा र इमानदारी प्रस्ट देखाउन सक्ने अवस्था आउनु आवश्यक छ । व्यवहार हेर्ने चिज हो । व्यवहारबाटै मान्छेको मूल्याङ्कन गरिन्छ । आज हाम्रो समाज पतनको दिशातर्फ भड्किनुको मूल कारण पनि नेताको व्यवहार गतिलो नभएर नै हो । नेताहरूले शहीदको गाथा गाउन छोडे भन्ने चिन्ता गर्नेहरूले पनि बुझ्नुपर्छ गाथा गाएर तिनको कदर हुँदैन ।

शहीद दिवसको अवसरमा नेपालको राजनीतिलाई सङ्लाउने कसम खाने आँट पार्टी र नेताहरूले देखाउनु पर्छ । यदि नेतृत्व त्यसका लागि तयार छैन भने युवा पुस्ताले हस्तक्षेप गर्ने आँट गर्नु पर्छ । शहीदलाई बिर्सने, तिनले बोकेको उद्देश्यलाई आफू अनुकूल परिभाषा गर्ने र स्वार्थको घेरामा फसाउने विरुद्ध कठोर कदम चाल्ने हो भने मात्र शहीदको सम्मान हुन्छ । सही अर्थमा शहीदको सम्मानले नै मुलुकलाई ठिक बाटोमा हिँडाउने ऊर्जाको श्रोत पैदा गर्छ । त्यसैले शहीदलाई शिरमा राखेर आगामी दिनमा राष्ट्र कल्याणको महाअभियानमा होमिने युवाले दरो अठोटका साथ अघि बढ्नुपर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *