बैंक डुब्दैछन् भन्ने हल्लाविरुद्द बैंकर एकजुट
काठमाडौं । सामाजिक सञ्जालमा विभिन्न किसिमका भिडियो बनाएर बैंक डुब्दैछन् भन्ने हल्लाविरुद्द बैंकर एकजुट भएका छन् । लामो समयदेखि सामाजिक सञ्जालमा विभिन्न किसिमका भिडियो तथा स्टाटस राखेर बैंक तथा वित्तीय संस्थाको नाम नै किटान गरी बैंक डुब्दैछ भनेर हल्ला फैलाउने अराजक व्यक्तिविरुद्द बैंकर एकजुट भएका हुन् । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स (एनबीए), विकास बैंकहरुको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गरेर अराजक तथा गलत हल्ला फैलाउने विरुद्द प्रतिवादमा उत्रिएका हुन् । नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख गुरुप्रसाद पौडेलले त्यस्तो अराजक गतिविधि नगर्न सचेत गराएका थिए भने शुक्रबार यी चार वटै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै गलत हल्ला नफैलाउन अराजक गतिविधि गर्नेहरुलाई सजग गराएका हुन् । चार वटै संस्थाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सूरक्षण कोष मार्फत् सुरक्षण गरिएको धारणा राखेका छन् । नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेपालको बैंक तथा वित्तीय क्षेत्र नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीति,नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्दै बैंकिङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको धारणा बैंकरले राखेका छन् । अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्तको व्यवस्थाहरु तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै बैंकिङ्ग क्षेत्र उदाहरणको रुपमा स्थापित भएको र नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको विषय विज्ञप्तिमा उल्लेख छ ।
बैंंकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधीहरु भइरहेको र सामाजिक संजालहरुमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति ध्यानाकर्षण भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । यस्तै, सामाजिक संजालहरुमा देखिने गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै ध्यान नदिन र सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना,समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिन अनुरोध गरिएको छ । सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायहरुलाई आग्रह गरिएको छ । बैंकरले आफ्नो सेवा सुविधाहरुलाई आगामी दिनहरुमा अझै बढी सुदृढ बनाउन प्रतिबद्ध रहेको विषय पनि जानकारी गराएका छन् ।