अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट भएपछि उनीहरू घाइते भएका थिए । लगत्तै उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । ‘हेलिकप्टरबाट काठमाडौं पठाइएको छ,’ कास्की जिल्ला प्रहरी कार्यालयका एसपी श्यामनाथ ओलियाले जानकारी दिए । पौडेल र आचार्य दुवैलाई कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको उनले जानकारी दिए । उनका अनुसार अर्थमन्त्री पौडेलको गण्डकी मेडिकल कलेज र मेयर धनराज आचार्यको फिस्टेल अस्पताल प्राथमिक उपचार गरेर काठमाडौं पठाइएको हो ।
अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको भाग जलेको थियो । दिउँसो साढे ३ बजेदेखि दुवैको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उहाँहरुको प्रारम्भिक मूल्यांकनअनुसार ५–६ प्रतिशत जलेको तर अनुहार जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ, अस्पतालले भनेको छ । पोखराको गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । दुवै जनाको अहिले कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको छ । अर्थमन्त्रीको हातमा र गालामा बेलुनको छर्रा लागेको र अवस्था सामान्य रहेको अर्थमन्त्रीको सचिवालयले जानकारी दियो । मेयर आचार्यको गाला र घाँटीमा आगोले पोलेको छ ।