चुनावपछि महाधिवेशन गर्दा पार्टीको अवस्था नाजुक हुने कोइरालाको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले चुनावपछि महाधिवेशन गर्दा पार्टीको अवस्था नाजुक हुने बताएका छन् ।
बिहीबार सुर्खेतमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘कुनै न कुनै रूपमा विधान अनुसार समयमै हुनुपर्छ । चुनावपछि अधिवेशन गर्यो भने नेपाली काँग्रेसको अवस्था नाजुक हुन्छ, कमजोर हुन्छ भन्ने कुरा मात्रै हो,’ नेता कोइरालाले भने । साथै, उनले पार्टी अहिले सबै संस्थापन पक्षको रहेको पनि जिकिर गरेका छन् । ‘नेपाली काँग्रेस पूरै संस्थापन पक्ष हो । त्यसरी हेर्नुस् तपाईँहरूले । तपाईँहरू जसरी सोधिरहनुभएको छ, त्यो होइन । हामी सबै एउटै हौँ,’ कोइरालाले सञ्चारकर्मीको प्रश्नको जवाफमा भने ।
‘म त धेरै पहिलादेखि भनिरहेको छु, हामीहरू समयमा अधिवेशन गरौँ । नेपाली काँग्रेसको विधानमा केही अप्ठेरो पर्यो भने एक वर्ष दिएको छ । संविधानले अर्को ६ महिना दिएको छ । यो भनेको डेढ वर्ष हो,’ कोइरालाले भनेका छन् ।