एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्ने

काठमाडौं । एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र २०९१’ डिबेञ्चर बिक्री गर्नेछ । ७.५० प्रतिशत ब्याजदर रहेको बैंकको ऋणपत्रको अवधि १० वर्ष तोकिएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख ऋणपत्रमध्ये ६० प्रतिशत १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामुहिक लगानीकोषलाई छुट्याएको छ ।

१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६,६ महिनाको अवधिमा हुने बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले फागुन २१ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो समयमा सम्पूर्ण ऋणपत्र बिक्री नभएमा आवेदन दिने समय चैत ३ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत बैंकको ऋणपत्रमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी आइआर डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले बैंकको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *