‘परिवारलाई श्रद्धाञ्जली’ भन्ने शब्द हटाउन कर्मचारीलाई सभामुखको निर्देशन
काठमाडौँ । भारतको ओडिसा भुवनेश्वरीस्थित केआईआईटी विश्वविद्यालयमा शंकास्पद मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको ‘परिवारलाई श्रद्धाञ्जली’ दिएको सांसद स्वर्णिम वाग्लेको शब्द हटाउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् ।
संसदको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उक्त शब्द हटाउन माग गरेका थिए । सांसद वाग्लेले मृतक लम्साललाई श्रद्धाञ्जली भन्नुपर्नेमा परिवारलाई नै श्रद्धाञ्जली दिएको भन्दै प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद खतिवडाले नियमापत्ति जनाएका हुन् । खतिवडाले सांसद वाग्लेले भनेका शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । ‘प्रकृति लम्सालको निधनले हामी सबै चिन्तित भयौं, तर एकजना माननीयले सपरिवारलाई श्रद्धाञ्जली भनेर संसद्मा रेकर्ड गराउनु भएको छ । फागुन ६ गते स्वर्णिम वाग्लेले भनेको उक्त शब्द हटाइयोस्,’खतिवडाले भने ।
सांसद वाग्लेले फागुन ६ को प्रतिनिधिसभा बैठकमा भनेका थिए, ‘केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको असामयिक निधन भएको छ । परिवारजनप्रति म र हाम्रो पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छौं ।’ सांसद खतिवडाको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सपरिवारलाई श्रद्धाञ्जली दिएको शब्दावली प्रयोग भएको भए सच्याउन निर्देशन दिए । उनले संसद् सचिवालयका कर्मचारीलाई त्यो विषय सुनेर सच्याउन निर्देशन दिए ।