कोशीका मुख्यमन्त्री कार्कीद्वारा शिवरात्रि पर्वको शुभकामना व्यक्त
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महाशिवरात्रि पर्वको सम्पूर्ण स्वदेशी तथा विदेशी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री कार्कीले आज एक शुभकामना सन्देश जारी गर्दै पर्वको उपलक्ष्यमा प्रदेशसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गरेका हुन् । “हाम्रो मुलुकमा धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिबिम्बित भएको पाइन्छ । आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरुपम मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यामिक चिन्तनको केन्द्र रही आएको छ”, सन्देशमा भनिएको छ ।
उनले यस पर्वले हामीलाई एक आपसमा मिलेर बस्न र भाइचाराको भावना विकास गर्न सहयोग पुर्याएको भन्दै बहुभाषिक, बहुधार्मिक र बहुजातिय मिश्रण रहेको हाम्रो मुलुकमा यस्ता आस्थाका धरोहरले धार्मिक सहिष्णुता अभिवृद्धि गरेको उल्लेख गरे ।