महिला फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । चार देशीय अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ । अहिलेसम्म कुनै उपाधि जित्न नसकेको नेपाली महिला टोली पहिलो उपाधि जित्ने दाउँमा छ । अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको करिब ४ दशकसम्म कुनै उपाधि जित्न नसकेको नेपालका लागि यो उपाधि जित्ने महत्वपूर्ण अवसर हो ।
नेपाल र म्यानमार लेबनान र कीर्गिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । लिग चरणमा नेपालले दुवै टोलीलाई समान १–० गोलले हराउँदा म्यानमारले लेबनानलाई ३–१ र कीर्गिस्तानलाई ५–० ले हराएको थियो ।