पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएकालाई वार्तामा आउन आह्वान
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएकालाई वार्तामा आउन आह्वान गरेका छन् ।
आइतबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले ‘नो केबलकार’ समूहले उठाएका विषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गरेका हुन् । केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको उनले बताए । गृहमन्त्री लेखकले जनतालाई अनुभूत हुने गरी देशमा शान्ति सुव्यवस्था कायम गर्न गम्भीर रहेको बताएका छन् ।
सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको र दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाउँदै गृहमन्त्री लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने बताए ।