भारत र अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनल खेल्दै

काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनल आज भारत र अस्ट्रेलिया खेल्दै छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजेदेखि शुरु हुँदैछ । भारत समूह ए को विजेताको रुपमा सेमिफाइनल खेल्दैछ भने अस्ट्रेलिया समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो । प्रतियोगितामा दुवै अपराजित रहेका छन् । भारतले सबै तीन खेल जित्ने क्रममा पाकिस्तान, बंगलादेश र न्यूजिल्याण्डलाई हराएको थियो भने अष्ट्रेलियाले इङ्गल्याण्ड र अफगानिस्तानलाई हराउँदा दक्षिण अफ्रिकासँग अंक बाँडेको थियो
आईसीसी प्रतियोगितामा भारतमाथि अस्ट्रेलिया धेरैजसो हावी हुँदै आएको छ । सन् २०२३ मा भारत आफ्नै घरेलु मैदानमा एक दिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । अब यस सेमिफाइनलमा भारतका अगाडि अस्ट्रेलियासँग बदला लिने अवसर रहेको छ । भारत र अस्ट्रेलियाबीच एकदिवसीय क्रिकेटमा हेड टु हेडमा दुवैबीच अहिलेसम्म १५१ खेल भएका छन् । जसमा अस्ट्रेलियाले ८४ खेल जितेको छ भने भारतले ५७ खेल जितेको छ । त्यस्तै १० खेलको कुनै नतिजा आएको छैन । आईसीसीका नकआउट प्रतियोगितामा भने दुवैले नवौँ खेल खेल्दैछन् । यसअघिका खेलमा दुवैले चार चार खेल जितेका छन् । दुबईमा भने पहिलो पटक आमने सामने हुँदैछन् । अष्ट्रेलियाले यसअघिका तीन ओटै खेल आयोजकका हिसाबले पाकिस्तानमा खेल्यो भने भारतले पाकिस्तानमा जान नमानेका कारण यूएईमै खेल्यो । त्यस्तै दोस्रो सेमिफाइनल खेल न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाबीच बुधबार पाकिस्तानको लाहोरमा हुँदैछ । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आगामी आइतबार हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *