नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा गौतम र पण्डित
काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा २ जना बढुवा भएका छन् । राष्ट्र बैंक सञ्चालक समितिले रामप्रसाद गौतम र किरण पण्डितलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो । गौतम गत मंसिर २० गते बढुवा भएका हुन् भने पण्डित गत फागुन १ गते कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । ३० वर्षे सेवा अवधि पुरा भएपछि देवकुमार ढकालले गत मंसिर ६ गते कार्यकारी निर्देशक पदबाट अवकाश पाएका थिए । ढकालले अवकाश पाएपछि निर्देशकको पहिलो वरियतामा रहेका गौतम स्वतः कार्यकारी निर्देशकमा बढुवा भएका राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, कार्यकारी निर्देशकमा ७ वर्ष सेवा अवधि पूरा भएपछि नेफिल मताङ्गी मास्केले गत माघ २६ गते अवकाश पाए । मास्केले अवकाश पाएपछि पण्डितलाई कार्यकारी निर्देशकमा बढुवा गरिएको राष्ट्र बैंकले जनाएको छ । कार्यकारी निर्देशकमा बढुवा भएपछि गौतमलाई वित्तीय व्यवस्थापन विभाग प्रमुख र पण्डितलाई भुक्तानी विभागको प्रमुखको जिम्मेवारी दिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसा कार्यकारी निर्देशक रिक्त रहेको १५ दिनभित्रमा पदपूर्ति गरिसक्नुपर्ने व्यवस्था छ । निर्देशकको बढुवा भने तत्काल नभएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार डा. प्रकाश कुमार श्रेष्ठलाई भने गभर्नर कार्यालयमा सरुवा गरिएको छ । गभर्नर कार्यालयको कार्यकारी निर्देशक रिक्त भएपछि उनलाई सो ठाउँमा सरुवा गरिएको हो ।