हमासले बन्धकलाई रिहा नगरे ‘नारकीय’ परिणाम भोग्न पर्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धरत प्यालेष्टिनी समूहलाई बन्धक त्याग्न वा ‘नरक’को सामना गर्न तयार रहनुपर्ने चेतावनी दिएका छन् ।
बुधबार राति उनले हमास लडाकू समूहको नेतृत्वलाई गाजा क्षेत्र खाली गर्नसमेत निर्देशन दिएका हुन् । “सही निर्णय लिनुहोस् । बन्धकहरूलाई अहिले नै छोडिदिनुहोस्, नत्र पछि यसको परिणाम नरक हुनेछ!” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा गरेको पोस्टमा भनेका छन् “गाजाका जनताका लागि एक सुन्दर भविष्यले पर्खिरहेको छ तर यदि तपाईँ बन्धकहरू रिहा गर्नुभएन भने त्यो सम्भव हुने छैन ।”
सोही पोस्टमा अमेरिकी नेताले हमासलाई भनेका छन्, “सबै बन्धक र तपाईँले हत्या गरेका मानिसहरूका सबै शवहरू पछि होइन तुरुन्तै अहिले नै फिर्ता गर्नुहोस्।” “यो तपाईँको लागि अन्तिम चेतावनी हो! हमाससँग तपाईँसँग अझै पनि अवसर छ त्यो हो यसले अब गाजा छोड्ने समय आएको छ,” उनले लेखेका छन्। उनले यस अगाडि पनि यसरी लेखेका छन्, “म इजरायललाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदै छु, यदि तपाईँले मैले भनेजस्तो गर्नुभएन भने हमासका कुनै पनि सदस्य सुरक्षित हुनेछैनन् ।”
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आकस्मिक आक्रमणमा पक्राउ परेका मध्ये पाँच जना अमेरिकी पनि रहेको विश्वास गरिएको छ । तीमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने अर्का एडान अलेक्जेन्डर जीवितै रहेको बताइएको छ । इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूका लागि इजरायली बन्धकहरूको आदानप्रदान सहित छ हप्ताको सापेक्षिक शान्तिपछि युद्ध विरामको पहिलो चरण गत सप्ताहन्तमा समाप्त भएको थियो।
इजरायलले पहिलो चरण अप्रिलको मध्यसम्म लम्ब्याउन चाहेको बताइरहँदा हमासले भने दोस्रो चरणमा प्रवेश गर्नुपर्नेमा जोड दिएको छ।