पारिजात साकोसको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
भक्तपुर । पारिजात बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा तथा नेपाल क्यान्सर केयर फाउन्डेसनको प्राविधिक सहयोगमा अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविर अन्तर्गत सहकारीका महिला सदस्यहरू तथा स्थानीय महिलाहरूको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण गरिएको थियो। शिविरमा ११६ जना महिलाहरूले परीक्षण गराएका थिए, जसमध्ये २८ जनामा सामान्य समस्या देखिएको कारण विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि अस्पताल जान सिफारिस गरिएको छ।

उक्त कार्यक्रम संस्थाका अध्यक्ष टंकराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक श्रीमती लक्ष्मी बस्यालले मन्तव्य व्यक्त गर्नु भएको थियो, भने कार्यक्रम सञ्चालन संस्थाका सञ्चालक समिति सदस्य श्रीमती निरञ्जना धौभडेलले गर्नु भएको थियो। उक्त कार्यक्रममा जिल्ला सहकारी संघ लि.का अध्यक्ष, पारिजात साकोसका निवर्तमान अध्यक्ष ध्रुवबहादुर रायमाझी, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार समिति, विभिन्न उपसमितिका सदस्यहरू, पदाधिकारीहरू, कर्मचारीहरू तथा स्वास्थ्य परीक्षण गराउन आएका गरी कुल १५५ जना सहभागी भएका थिए। कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष टंकराज काफ्लेले नेपाल क्यान्सर केयर फाउन्डेसनबाट सहभागी चिकित्सक डा. सरिता घिमिरेको टिम तथा अन्य सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै मायाको चिनो र प्रशंसा पत्र प्रदान गर्नुभएको थियो।