सच्चा लोकतन्त्रवादीले राजा आउंदा आत्तिनु पर्दैन- अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनताले लोकतन्त्रको सट्टा निरंकुशता नखोजेको बताएका छन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन्-‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन । त्यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन । जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन’ गत आइतबार पोखराबाट प्लेनमा काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा त्रिभुवन विमानस्थल आसपासमा र्‍याली निकालिएको थियो । पूर्वनिर्धारित आमसभा स्थगित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा ज्ञानेन्द्रको स्वागतलाई महत्त्व दिएको थियो ।

आइतबारको र्‍यालीको उपस्थितिलाई लिएर कतिपय राजतन्त्र पक्षधरहरू उत्साही भएका छन् । त्यसअघि पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिले समेत उनीहरूमा उत्साह भरेको थियो । हरेक वर्ष प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले शुभकामना दिँदै आएका छन् । शुभकामना दिने क्रममा यसवर्ष ६ फागुनमा ज्ञानेन्द्रले शासन सत्ता छोड्नुलाई त्यागको रूपमा व्याख्या गरेका थिए । राजगद्दी त्याग्नुलाई कमजोरी नठान्न राजनीतिक दलहरुलाई चेतावनी समेत दिएका थिए ।

गत आइतबार राजतन्त्र पक्षधरहरूको राजधानीमा भएको शक्ति प्रदर्शनपछि निरंकुश राजतन्त्रको वकालत भएको भनेर कतिपयले आलोचना गर्दै आएका छन् । नेकपा माओवादी केन्द्रले प्रतिवादमा काठमाडौँमै प्रदर्शनको तयारीसमेत गरेको छ । यसबारे समाजवादी मोर्चामा समेत छलफल भएको छ । यहीबेला राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू निरंकुश राजतन्त्रको विपक्षमा रहेको बताएका हुन् । आफू राजासहितको लोकतन्त्रको पक्षमा रहेको उनको प्रष्टीकरण छ ।

उनले लेखेका छन् :-

लोकतन्त्रको विकल्प राजतन्त्र होईन,हुनसक्दैन।त्यो सबैले बुझेका छन्। जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन। जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन,राजासहितको लोकतन्त्र खोजेको हो।लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र,सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो।मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको हो।राजासहितको प्रजातन्त्र बिश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ। बेलायत, जापान, नर्वे लगायतका कैयौं मुलुक त्यसको ज्वलन्त उदाहरण हुन्। जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउंदा आत्तिनु पर्दैन।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *