आभाष सहकारी संस्थाको छोरी बचाउ अभियानलाई निरन्तरता

काभ्रे । काभ्रे जिल्लाको बनेपामा मुख्य कार्यालय रहेको आभाष बचत तथा ऋण सहकारी संस्थाले छोरी बचाउ अभियानलाई निरन्तरता दिइरहेको छ । संस्थाले २०७४ बैशाख १ गतेबाट छोरी बचाउ अभियान शुरुवात गरेको हो। संस्थाले हरेक नयाँ वर्ष र संस्थाको स्थापना दिवस मंसिर १४ गतका दिन शिर मेमोरियल अस्पालत, बनेपामा जन्मिने पहिलो छोरीलाई १० हजार प्रदान गर्ने गरेको छ। संस्थाका मुख्य प्रबन्धक सुवास वैद्यले २०८१ माघ सम्म आइपुग्दा १३ जना छोरीहरुलाई संस्थाले उक्त रकमसहित स्वागत गरिसेकको जनाए । उक्त अस्पतालमा जन्मने सदस्य वा गैर सदस्यका पहिलो छोरीलाई संस्थाले १० हजार दिने गरेको हो । छोराले मात्र कमाउन सक्छ र छोरीले कमाउन सक्दिन भन्ने भ्रमलाई चिर्दै छोरीले जन्मने बित्तिकै पनि कमाउन सक्छे भन्ने विश्वास समाजमा दिलाउनको लागि यो कार्यक्रमको सञ्चालन गरिएको उनको भनाई छ । शिर मेमोरियल अस्पतालमा प्रत्येक नव वर्षमा जन्मने पहिलो एकजना र प्रत्येक वर्ष मसिर १४ गतेको दिन यस संस्थाको वार्षिक उत्सवको उपलक्ष्यमा सो दिन जन्मने पहिलो एकजना छोरीलाई आभाष साकोसको तर्फबाट दश हजार रुपैयासहित स्वागत कार्यक्रम गरिने गरेको उनको भनाई छ । सहकारीका सात मध्ये एक ‘समुदाय प्रति चासो भन्ने सिद्धान्तलाई आत्मसात गर्दै यो कार्यक्रम सुरु गरिएको हो । संयुक्त राष्ट संघले लिएको दिगो विकास लक्ष्यलाई आधार मानी दिगो विकासको दुई लक्ष्य ‘स्वास्थ्य र समुन्नत समाज र ‘लैंगिक समानता हासिल गर्न संस्थाले यो कार्यक्रम ल्याएको बैद्य बताउँछन् । संस्थाले ६०औं राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले तय गरेको ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नारालाई सार्थक बनाउन भन्दै उक्त अभियानलाई अघि बढाएको थियो ।

संस्थाले छोरीको १० महत्व यसप्रकार पहिचान गरेको छः

– छोरीले जति परिवारको हेरचाह कसैले पनि गर्न सक्दैन ।

– छोरी एउटा गाँठो हो जसले परिवारलाई एक सुत्रमा बाँध्दछ ।

– छोरीले परिवारमा उत्साह, उमंग र नयाँपन ल्याउँछिन् ।

– छोरीले परिवारका सदस्यहरुको खास अवसरहरु कहिले पनि बिर्संदैनन् ।

– छोरी एक असल श्रोता हो । तपाईं उनीसँग धेरै समय बिताउन सक्नुहुन्छ ।

– छोरी यात्राको लागि एक असल साथी हुन् ।

– छोरी मात्र एक त्यस्तो व्यक्ति हो जसले आफ्नो परिवारसँगै जिवनसंगीसँगको प्रेमलाई सन्तुलनमा राख्न सक्छिन् ।

– छोरी उत्तम हो तर के तपाईलाई लाग्दैन छोरी सर्वोत्तम हो ।

यस्ता छन् संस्थाको छोरी बचाउ अभियानको उद्देश्यहरुः

– प्रजनन स्वास्थको शिक्षा तथा जनचेतनाको कमीका कारण धेरै आमा तथा शिशुहरुले ज्यान गुमाइरहेका छन् । तसर्थ मातृ मृत्युदर तथा शिशु मृत्युदर कम गर्न मानिसहरुमा प्रसवः अस्पतालमा गराउनु पर्छ भन्ने भावनालाई जागृत गर्ने ।

– शिशु छोरी भए भ्रूणहत्या गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न ।

– हाम्रो समाजमा छोरीलाई हेलाको दृष्टिकोणले हेरिन्छ । सो दृष्टिकोणलाई परिवर्तन गर्ने ।

– छोरा आम्दानी हो र छोरी खर्च मात्र भन्ने सोच परिवर्तन गर्ने ।

– छोरा वरदान र छोरी अभिषाप हो भन्ने मान्यता परिवर्तन गर्ने ।

– छोरा र छोरी दुवै बरदान हुन् र दुवै समान हुन् भन्ने भावना जागृत गर्ने ।
सदस्य सुरक्षा कार्यक्रम
संस्थाले सदस्यहरुको सुरक्षालाई मध्यनजर गर्दै सदस्य सुरक्षा कार्यक्रम समेत सञ्चलान गर्दै आएको छ । संस्थामा सदस्य बनी उक्त कार्यक्रममा आवद्ध भएका सदस्यहरुलाई घातक रोग लाग्दा उपचारका लागि समेत आर्थिक सहयोग गर्ने गरेको छ । २०७१ साल मंसिर १४ गते संस्थाको पाँचौं वार्षिकोत्सव देखि सुरुवात गरिएको आभाष सदस्य सुरक्षा कार्यक्रममा हाल सम्ममा ४७० जना सदस्यहरुले ४३ लाख ४३ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त गरिसकेका छन् । मष्तिस्कघात, क्यान्सर, पक्षाघात, मुटुको बाईपास सर्जरी, ओपन हार्ट सर्जरी, एन्जियोप्लाष्टी, मिर्गौला फेल, थर्ड डिग्री बर्न, तथा नियम ९ मा उल्लेख भएको स्थायी असक्तताको अवस्था भएकोमा, उल्लेखित कुनै एक रोगको लागेमा वा उपचारको क्रममा सदस्यको मृत्यु भएमा एक पटकको लागि मात्र पच्चीस हजार रुपैयाँ प्रदान गर्दछ । त्यसैगरी सदस्यको शल्यक्रिया गर्नु परेमा १० हजार रुपैयाँ प्रदान गर्ने गरिएको छ । सुविधा रकम प्राप्त गरे पश्चात पुनः नविकरण गर्नु पर्नेछ । ती दुवै सुविधा प्राप्त गर्ने व्यक्तिले पुनः नवीकरण भने गर्नुपर्ने हुन्छ। घातक रोग वा शल्यक्रिया गर्नु परेको अवस्था बाहेक अन्य कुनै पनि कारण यदि सदस्य १० दिन वा सो भन्दा बढि अस्पतामा उपचार गराउनको लागि भर्ना भएर बस्नु परेमा ५ हजार रुपैयाँ दिने गरिएको छ । कुनै सदस्यको रोग लागेर वा काल गतिले मृत्यु भएमा २५ हजार रुपैयाँ आश्रित परिवारलाई प्रदान गर्ने गरेकोछ । त्यसैगरी संस्थामा आवद्ध महिला सदस्य वा पुरुष सदस्यको श्रीमती सुत्केरी हुँदा सुत्केरी भेटघाट कार्यक्रम गरी एक हजार प्रदान गर्ने गरेको छ । सदस्य ७५ वर्ष उमेर नाघेको भएमा उक्त कार्यक्रममा आवद्ध हुन योग्य नभएको हुनाले उक्त सदस्यलाई कुनै पनि रोग लागेर वा काल गतिले मृत्यु भएमा १० हजार र ७५ वर्ष मुनि भए ५ हजार रुपैयाँ सुविधा रकम आश्रित परिवारलाई प्रदान गर्ने गरेको छ ।
संस्थाको वित्तीय अवस्था
गएको माघ मसान्तसम्म संस्थाको शेयर पुँजी ३ करोड ७६ लाख ४६ हजार, जगेडा कोष २ करोड ६३ लाख ४४ हजार रहेको छ । त्यसैगरी संस्थाको कुल बचत ७९ करोड ३२ लाख १४ हजार कुल लगानी ६७ करोड, ८५ लाख ९ हजार र कुल सम्पत्ति ८७ करोड ३५ लाख ३० हजार पुगेको छ । संस्थामा ६ हजार १८ सदस्य, ९४१ बालसदस्य तथा २८४ ऋणी सदस्य रहेका छन् । संस्थाको तरलता २५।८५ प्रतिशत रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *