सेयर किन्नेलाई कडाइ, बिक्री गर्नेको पैसा होल्ड
काठमाडौं । सेयर कारोबारमा ‘टी प्लस टु’ लागु भएको चार वर्ष भयो । यसको अर्थ सेयर खरिद गर्नेले दुई कारोबार दिनमा पैसा तिर्नुपर्छ भने बिक्री गर्नेले दुई कारोबार दिनमा नै पैसा पाउनुपर्छ । तर, यो नियम धेरै ब्रोकरहरूमा लागु छैन । सेयर खरिद गर्नेलाई ब्रोकरहरूले यो नियम कडाइका साथ लागु गराएका छन् । सेयर खरिदका लागि टीएमएसमा कोल्याट्रोल पैसा राख्नै पर्छ । त्यो कोल्यट्रोलमा भएको बराबरको मात्र सेयर खरिद गर्न पाइन्छ । कोल्याट्रोलमा भएको पैसा नकाटियो भन्ने चाहनेले ब्रोकरको खातामा दुई कारोबार दिनभित्र पैसा पठाइसक्नुपर्छ । तर, सेयर बिक्री गर्नेहरूको खातामा ब्रोकरहरूले दुई कारोबार दिनमा पैसा पठाउँदैनन् । सबै ब्रोकरहरूले टी प्लस टुको नियम लागु गरेका छैनन् भन्ने हैन । तर, अधिकांश ब्रोकरले ‘पेमेन्ट रिक्वेस्ट’को नाममा भुक्तानी गर्न ढिला गर्छन् । यसको उदाहरणका रूपमा आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटीज (ब्रोकर ५७) लाई लिन सकिन्छ । यो ब्रोकरबाट सेयर बिक्री गर्नेले दुई कारोबार दिनपछि पैसा पाउँदैनन् । बेचेको सेयरको भुक्तानीका लागि फोन गरेर ‘पेमेन्ट रिक्वेस्ट’ गर्नुपर्छ । यति मात्र हैन पैसा समयमा खातामा आएका भनेर फोन गर्दा कर्मचारीको गाली समेत खानुपर्छ । यो त एक उदाहरण मात्र हो ।
सञ्चालनमा रहेका ९० ब्रोकरहरूमध्ये यसरी सेयर बिक्री गरेपछि समयमा पैसा खातामा नपठाउने धेरै छन् । धितोपत्र बोर्डमा पनि ब्रोकरहरूले सेयर बिक्रीबापतको पैसा समयमा नदिएको गुनासो परिरहेको हुन्छ । तर, बोर्डले सम्बन्धित ब्रोकरलाई सम्पर्क गरी समस्या हल गर्दै आएका नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले बताउँछन् । “ब्रोकरले समयमा पैसा नदिएको भन्दै उजुरी पर्ने गरेको छ । हामीले सम्बन्धित ब्रोकर कम्पनीलाई फोन गरेर समस्या समाधान गर्दै आएका छौँ,” घिमिरेले बाह्रखरीसित भने, तर, सेयर बिक्री गरेको दुई कारोबारपछि लगानीकर्ताले पैसा पाउनुपर्ने व्यवस्था छ । सेटलमेन्टको कामले गर्दा ब्रोकरले नियमअनुसार दुई दिनमा नै सेयर बिक्रीको पैसा पठाउन नसकेको हुन सक्ने स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष धर्मराज सापकोटा बताउँछन् । अहिले ब्रोकरहरूले सेयर बिक्रीको पैसा टी प्लस टुमा भन्दा पनि ‘टी प्लस थ्री’ मा पठाउने गरेको उनी बताउँछन् । दुई दिनमा सेटलमेन्टको काम गर्नुपर्ने भएकाले नियमअनुसार ब्रोकरले दुई दिनमा नै पैसा पठाउन नसक्ने उनको भनाइ छ । अहिले ब्रोकरहरूले टी प्लस टुभन्दा पनि टी प्लस थ्रीमा सेयर बिक्रीको पैसा पठाउने गरेका छन् । सबै ब्रोकरले नियमअनुसार लगानीकर्ताको खातामा सेयर बिक्रीका पैसा पठाउनुपर्छ । टी प्लस टु लागु गर्दा सुरुमा ब्रोकरहरूले लामो समयसम्म पैसा नपठाउँदा धितोपत्र बोर्डले विज्ञप्ति नै निकाल्नु परेको थियो । तर, यो नियम लागु भएको चार वर्ष पूरा हुँदा पनि अहिलेसम्म प्रभावकारी रूपमा लागु हुन सकेको छैन । लगानीकर्ताहरूले सेयर बिक्री गरेको पैसा समयमा नपाएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका हुन्छन् । कतिपय ब्रोकरले खातामा पैसा नपठाएर सो रकम बराबरको सेयर किन्न सक्ने व्यवस्था गरिदिने गरेका पनि छ । यदि पैसा चाहिएमा ब्रोकरलाई फोन गरेर खातामा पठाउन लगाउनु पर्ने झन्झट पनि लगानीकर्ताले भोगिरहेका छन् ।