साफ च्याम्पियनसिप फुटबल श्रीलंकामा हुने
काठमाडौं । साफ (पुरूष) च्याम्पियनसिप फुटबल श्रीलंकामा हुने भएको छ । काठमाडौंमा बसेको साफको कार्यसमिति बैठकले सन् २०२५ को साफ च्याम्पियनसिप श्रीलंकामा गर्ने निर्णय गरेको हो । श्रीलंकाले १७ वर्षपछि साफ च्याम्पियनसिप आयोजनाको अधिकार प्राप्त गरेको हो । साफ कार्यसमिति बैठकमा लागि काठमाडौ आइपुगेका श्रीलंका फुटबलका अध्यक्ष जसवर उमारले श्रीलंकाले आयोजना गर्ने पुष्टी गरेका हुन् । साफ च्याम्पियनसिप आगामी जुनमा हुनेछ । यसअघि होम अर अवे फर्म्याटमा साफ आयोजना गर्ने तयारी भइरहेपनि यस पटक सेन्ट्रलाइज्ड भेन्युमै साफ गर्न लागिएको हो । श्रीलंका फुटबल फेडेरेसनको प्रस्थानमा साफका सदस्यहरु राष्ट्रहरुले यो निर्णय गरेको श्रीलंका फुटबले जनाएको छ । श्रीलंकाको लागि यो ऐतिहासिक क्षण रहेको फेडेरेसनले जनाएको छ । श्रीलंकाले यसअघि सन् २००८ मा माल्दिभ्ससँग मिलेर साफ च्याम्पियनसिप आयोजना गरेको थियो । पछिल्लो पटक साफ मेन्स च्याम्पियनसिप सन् २०२३ मा भारतको बेंगलुरुमा आयोजना भएको थियो । साफ च्याम्पियनसिपलाई दक्षिण एसियाको विश्वकपको रुपमा चिनिन्छ । भारतले सर्वाधिक ९ पटक साफको उपाधि जितेको छ भने माल्दिभ्सले २ तथा बंगलादेश र श्रीलंकाले १ १ पटक उपाधि जितेका छन् । यस्तै सन् २००३ देखि २०१५ सम्म साफमा रहेर खेलेको अफगानिस्तानले पनि एक पटक उपाधि जितेको थियो । नेपालले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन । सन् २०२१ मा माल्दिभ्समा भएको साफमा फाइनल पुग्नु नै नेपालको ठूलो सफलता हो । पाकिस्तान र भुटान फाइनलसम्म पनि पुग्न सकेको छैन ।