विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्ने : अध्यक्ष ढकाल
अबुधाबी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताउनु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । नेपालमा पर्याप्त सम्भावना रहेकोले ती सम्भावनाबाटै आर्थिक समृद्धि हासिल गर्न पर्ने उनको जोड थियो । योजनाबद्ध दीर्घकालीन सोच विना विकास सम्भव छैन । विकासका लागि दूरदर्शी र स्थिर नेतृत्व आवश्यक हुन्छ भन्ने कुरा हामीले दुवईबाट सिक्न सक्छौं । तेलमा मात्र निर्भर भएको युएईले अर्थतन्त्रको विविधीकरण गर्दै पर्यटन, वित्तीय सेवा, निर्माण, स्मार्ट सीटी र व्यापार जस्ता क्षेत्रहरूमा ध्यान दिएको छ ।
हामीले पनि हाम्रो देशमा भएका सम्भावनाहरको पनि यसैगरी विविधिकरण गरेर त्यसबाट लाभ लिन सक्नुपर्छ । नेपालको सन्दर्भमा ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि जस्ता क्षेत्रमा व्यापक सम्भावना रहेकोले यी क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सके यसले रोजगारी सिर्जना तथा नेपालको समग्र आर्थिक विकासमा टेवा पुग्ने अध्यक्ष ढकालले बताए । नेपाल कला र संस्कृतिमा धनी देश रहेको र देशका अमूल्य निधिका रूपमा रहेका कला, संस्कृति र परम्पराहरुको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सकिने उल्लेख गर्दै उनले विदेशमा आयोजना गरिने यस्ता महोत्सवहरूले नेपाललाई विश्वमा चिनाउने र मित्रता तथा सद्भाव बढाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने बताए । महासंघले नेपाल र यूएईबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा निरन्तर कार्य गरिरहेको समेत अध्यक्ष ढकालले बताए । विदेशमा कार्यरत नेपाली कामदारहरूको योगदानको निजी क्षेत्रले उच्च सम्मान गर्ने गरेको बताउँदै उनले महासंघले नेपाल र यूएई दुवैलाई लाभ पुग्ने साझेदारीहरू निर्माण गर्न कटिबद्ध रहेको पनि बताए ।