सत्तामा पुगेपछि देखिन्छ कम्युनिष्ट चरित्र

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस यसै हप्ता मनाइयो । प्रमुख सत्तारुढ दल र प्रमुख विपक्षी दल समेत दर्जन नेपाली कम्युनिष्ट पार्टीहरू पहिलो कम्युनिष्ट सरकारका संस्थापक भी आई लेनिनको जन्मदिनलाई नै स्थापना दिवस मनाउँछन् । नेपाली कम्युनिष्ट पार्टीको स्थापनाको विषयमा नै गम्भीर मतभेद छ ।

त्यसका संस्थापक र स्थापना मितिको सम्बन्धमा नै दुई थरी मत छ । एकधरिले त्यसका संस्थापक सदस्यमा चार जनाको नाम उल्लेख गर्दछन् भने अर्का थरी पाँच जना संस्थापक भएको दाबी गर्दछन् । चार जना सदस्य संस्थापक भएको दाबी गर्नेहरूले २२ अप्रिललाई स्थापना मिति उल्लेख गर्दछन् भने पाँच जना संस्थापक सदस्य दाबी गर्नेहरूले स्थापना मिति पनि फरक अर्थात् १५ सेप्टेम्बरलाई मान्दछन् । यसरी स्थापना मिति र संस्थापक सदस्य कसलाई मान्ने देखि शुरु भएको विवाद आज सत्ताको लुछाचुँडीसम्म आइपुगेको छ । अझ वर्तमान सत्तारुढ दल नेकपा एमाले को भातृ पार्टी नेकपा (माले) अर्थात् झापाली समूहको स्थापना चाहिँ माओको जन्मदिन अर्थात् २६ डिसेम्बर हो । पछिल्लो कालखण्डमा नेपालमा कम्युनिस्ट एकीकरणको अभियान पनि चल्यो तर सधैँ दर्जनको हाराहारीमा नेपाली कम्युनिष्टहरू रहिरहे । अहिले सत्तामा पनि कम्युनिस्ट नै छन् र प्रतिपक्षमा पनि । तर अचम्मको कुरा के छ भने तिनको झन्डा र स्थापना दिवस एउटै छ । सन् १९४९ को २२ अप्रिललाई नेपाली मूलधारका पार्टीहरूले स्थापना दिवस मान्दछन् । पार्टीको संस्थापक महासचिव पुष्पलाल र उनको मतका अनुयायीले भने नेपालको कम्युनिस्ट पार्टीको स्थापना सन् १९४९ को १५ सेप्टेम्बर लाई मान्ने गरेका छन् । भारतको कलकातामा राणा कालमा नै स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी आज अनेक टुक्रामा विभाजन भएर पनि सत्तामा पनि छ, प्रतिपक्षमा पनि छ, चुनाव बहिष्कार गर्नेमा पनि छ । एकले अर्कोलाई तथानाम गाली गर्ने कम्युनिस्टहरू संसद् भरिका पार्टीलाई एउटै ठान्छन् र आफ्नो देशको पार्टीलाई चाहिँ एउटा इकाई मात्र ठान्दछन् ।

एउटै नाम र झन्डा लिएर गठन भएका संसार भरिका कम्युनिष्ट पार्टीका केही खास विशेषता छन् । तिनले सत्तामा पुगेपछि पार्टीलाई आफ्नो पारिवारिक सम्पत्ति ठान्छन्, संसारमा जुनसुकै कुनामा भए पनि सत्तामा पुगेपछि भ्रष्टाचार गर्नु तिनको विशेष चरित्र हो । नेपालमा त माओवादी लगायतका पार्टीले सत्तामा पुग्नु अघि नै आफ्नो भ्रष्टाचारी चरित्र प्रस्ट देखाइ सकेका थिए । अर्को विशेषता पार्टी नेतृत्वमा वा राज्यसत्तामा पुगेपछि पद नछाड्ने पनि एउटा हो । त्यो नेपालका कम्युनिष्टमा पनि बारम्बार देखिँदै आएको छ । आफूलाई असली कम्युनिस्ट ठान्ने र अर्कोलाई कम्युनिष्ट नै नमान्ने रोग कम्युनिस्ट पार्टीहरूमा संसारभरि व्याप्त छ । संसारभरि कम्युनिष्ट नाम भएका र हँसिया हथौडा अङ्कित झन्डा भएका दलहरूलाई आफ्नै पार्टी मान्नेहरूले आफ्नै देशका अरू कम्युनिस्ट पार्टीलाई दुस्मन ठान्ने प्रवृत्ति छ । त्यो चाहिँ आश्चर्य जनक पक्ष हो ।

नेपालमा कम्युनिष्ट सत्तामा पुगेदेखि नै तिनले बदनामी कमाएका छन् र पनि गरिबी बचाएर राख्ने र त्यसैलाई देखाएर सत्तामा बारम्बार पुग्ने अस्त्र बनाउने प्रवृत्ति हाबी छ । गरिबीमा कम्युनिष्ट पार्टी खुब मौलाउँछन् । त्यो कुरा नेपाली कम्युनिस्टलाई हेर्दा पनि स्पष्ट हुन्छ । इमान, नैतिकता, जिम्मेवारी केही पनि नभएका नेपाली कम्युनिष्टहरू सत्तामा पुगिरहन र टिकिरहन जस्तो सुकै अनैतिक काम पनि गर्छन् भन्ने कुरा माओवादी र एमाले उदाहरण छन् । हुन त अहिले खड्ग ओली नेतृत्वमा एमाले र नेपाली काँग्रेस सरकारमा छन् तर यो सरकार र प्रधानमन्त्री इतिहासमै सबभन्दा बढी बदनाम छ । यसले काँग्रेस एमालेलाई एउटै घानमा हालेर सिद्ध्याउन खोज्नेहरूलाई फाइदा भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *