पुरातत्त्व विभागका दुई कर्मचारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता
काठमाडौं । पुरातत्त्व विभागका दुई कर्मचारीविरुद्ध चार करोड २२ लाख घुस र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका इन्जिनियर पूर्णबहादुर श्रेष्ठ, पथ प्रदर्शक देउवकला अधिकारीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले भ्रष्टाचारमा कुल चार करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ बिगो दाबी गरेको छ । पुरातत्त्व विभागले निर्माण सेवा प्रालिसँग गरेको ठेक्का सम्झौतामा भ्रष्टाचार गरिएको दाबी अख्तियारको छ । अनुसन्धानका क्रममा ६४ करोड २१ लाख ८९ हजार ६०३ रुपैयाँ बराबरको ठेक्का सम्झौतामा इन्जिनियर श्रेष्ठले घुस रकम लिएर सहजीकरण गरेको तथ्य खुल्न आएको आयोगले जनाएको छ । पथ प्रदर्शक रहेकी अधिकारीको बैँक खातामा श्रेष्ठबाट पटक–पटक घुस बापतको रकम दाखिला गराएको पुष्टि भएको दाबी अख्तियारले गरेको छ । दुवैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरूप घुस बापतको रकम असुल गरी त्यति नै जरिवाना र जेल सजायको माग छ । घुसबाट खरिद गरेको सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने उद्देश्यले जग्गा, सुन खरिद, तथा विभिन्न व्यक्तिलाई भुक्तानीसमेत गरेको तथ्य फेला परेको छ ।
उनीहरूले मिलेमतोमा सम्पत्ति शुद्धीकरण अन्तर्गतको कसुरसमेत गरेको दाबी अख्तियारको छ । घुस बापतको रकमबाट वास्तविक कारोबार मूल्य भन्दा अत्यन्त न्यून मूल्य कायम गरी श्रेष्ठ र अधिकारीको संयुक्त नाममा नुवाकोट जिल्ला साबिक सुनखानी गाविस वडा नं ०९ को कित्ता नं ८५, ८१८ र ८१९ को क्षेत्रफल क्रमशः ६–१४–२–३, १–१–० र ८–१–१–१ र काठमाण्डौ महानगरपालिका–६ को कित्ता नं ५४७ क्षेत्रफल ११३.२६ वर्ग मिटर रहेको घरजग्गा खरिद गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप अख्तियारको छ । कसुरबाट आर्जित सम्पत्तिको लगानी गरी सुनका गरगहनाहरू तौल ९९.६८ ग्रामसमेत खरिद गरेको दाबी समेत अख्तियारको छ ।प्रतिवादीहरू श्रेष्ठ र अधिकारीले सम्पत्तिको अधिकार बदल्न, स्वामित्व र स्वरूप परिवर्तन गर्न घरजग्गा खरिद, कर्जा लगानी, सुन खरिद र विभिन्न व्यक्तिहरूलाई भुक्तानी गरेको देखाएर नगद प्राप्त गरी व्यवस्थापन गरेको तथ्य फेला परेको भन्दै सम्पत्ति शुद्धीकरण कसुरमा समेत हदैसम्मको सजाय माग गरिएको छ ।
















