‘रवीन्द्र मिश्रमाथि रवि लामिछानेको जस्तै राजनीतिक प्रतिशोध’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रमाथिको अभियोगलाई पनि रवि लामिछानेको जस्तै राजनीतिक प्रतिशोध भएको दाबी गरेका छन् ।
वाग्लेले सामाजिक सञ्जालमा लेख्दै मिश्रमाथिको अभियोग ‘रास्वपा सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध जस्तै’ भएको दाबी गरेका हुन् ।
उनले लेखेका छन्-
रविन्द्र मिश्र: बुश हाउसदेखि भद्रकाली हिरासतसम्म.
हिजो लण्डनमा हिँड्दै गर्दा बिबिसी विश्व सेवाको तत्कालीन मुख्यालय बुश हाउस पुगेँ, जहाँ रवीन्द्र मिश्रसँग ३० वर्षअघि मेरो पहिलो भेट भएको थियो । पारी, म पढ्दै गरेको ‘लण्डन स्कुल अफ इकनमिक्स’ थियो । प्रधान वैचारिक मूल्य र मान्यता फरक रहेकोले राजनीतिमा सँगै काम गर्न सकेनौँ, तर हाम्रो सम्बन्ध दाजुभाइको जस्तै स्नेहपूर्ण छ । पूर्वसचिव कृष्ण ज्ञवालीले भन्नु भएझैँ: ‘महत्त्वाकांक्षा, आग्रह, अधैर्य, अस्थिरता र अपरिपक्वता उहाँका आलोच्य पक्ष हुन् भने देशभक्ति, आर्थिक इमानदारी, परोपकारिता, अध्ययनशीलता र मिलनसारिता उहाँका प्रशंस्य गुण हुन्।’ नेता रविन्द्र मिश्रमाथि राज्यविरुद्धको अपराधजस्तो अनपेक्षित र अवान्छित अभियोग सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध जस्तै हो । सरकारले विवेक देखाई तुरुन्तै रिहा गरोस् भन्ने माग गर्दछु ।